काठमाडौं – नेपाली क्रिकेटले एकपछि अर्को सफलता हात पार्दै गइरहेको छ। नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको ३ वर्ष भइसक्यो। तरपनि नेपाली राष्ट्रिय क्रिकेट टोलीले हात पारेको सफलताले क्रिकेट प्रेमीमात्र नभएर देशबासीलाई समेत खुशी पार्दै आइरहेको छ। २०७३ सालमा क्यानभित्र साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयमा उग्र विवाद भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले क्यानलाई निलम्बन गरेको थियो। त्यसयता नेपाली टोलीले जति सफलता हात पारेको छ, त्यो सब आफ्नो परिश्रम र मिहिनेतको फल हो।
क्रिकेट संघ क्यान प्रतिबन्धमा पर्दा समेत नेपालले दुईवटा ऐतिहासिक सफलता हासिल गर्नु ठूलो उपलब्धी रहेको बताउँछन्, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दास। क्यान प्रतिबन्धमा रहेको बेला पनि खेलाडीले राष्ट्रका लागि खेल्दै यो सफलता हात पार्नु गर्वको कुरा रहेको दासको भनाई छ। क्यानको विवाद चाडै समाधान भई पूर्वाधार विस्तारमा होस् भन्ने उनको चाहाना दासको छ।
अहिले एकदिवसीय र टि–२० सिरिज खेल्न युएईमा रहेको नेपाली टोलीले ३ म्याचको एकदिवसीय सिरिजमा युएईलाई पराजित गर्दै क्रिकेटमा क्यानको साथ र सहयोगबिना नै अर्को ठूलो उपलब्धि हात पारेको छ। युएईमाथि ऐतिहासिक सफलता हात पारेसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले पहिलो पटक नेपाललाई वरियतामा समावेश समेत गर्यो। नेपाल अहिले एकदिवसीय क्रिकेटको वरियतामा १५ औं स्थानमा छ। क्यान निलम्बनमा परेपनि नेपाली टोलीले ३ वर्षमा ऐतिहासिक फड्को मारेको छ।
नेपालले युएईसँगको एकदिवसीय सिरिजमात्र जितेन केही कीर्तिमान समेत बनायो। सिरिजको दोस्रो खेलमा रोहितकुमार पौडेलले अर्धशतक बनाउँदै २३ वर्षअघि पाकिस्तानका पूर्व क्रिकेटर साहिद अफ्रिदीले कम उमेरमा बनाएको कीर्तिमान समेत भंग गरिदिए। त्यस्तै तेस्रो तथा अन्तिम खेलमा कप्तान पारस खड्काले शतक प्रहार गर्दै एकदिवसीय क्रिकेटमा शतक हान्ने पहिलो नेपाली खेलाडी बने। बलिङतर्फ ५ विकेट लिदै सोमपाल कामीले रेकर्ड राखे।
टी–२० तर्फ डेब्यु खेलमै अर्धशतक प्रहार गर्दै सन्दीप जोरा कम उमेरमा अर्धशतक बनाउने विश्वका कान्छा र नेपालका पहिलो खेलाडी बने। सन्दीपले युएईविरुद्धको पहिलो टी–२० खेलमा यो कीर्तिमान बनाएका हुन्। उनले ४६ बलमा ३ चौका र १ छक्काको मद्दतमा अविजित ५३ रन जोडेका थिए। सन्दीपले १७ वर्ष १ सय ३ दिनमा अर्धशतक पूरा गर्दै क्यानाडाका हेराल पटेलको नाममा रहेको कीर्तिमान तोडन सफल भए। पटेलले २०१० मा आयरल्याण्डविरुद्ध १८ वर्ष १ सय ७७ दिनमा अर्धशतक पूरा गरेका थिए। सन्दीपले युएईविरुद्धको तीन एकदिवसीय शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेका थिए।
नेपालका तर्फबाट सर्वाधिक ६ विकेट लिएका अबिनाश म्यान अफ दी सिरिज घोषित भए। पहिलो खेलमा मात्र एक विकेट लिएका उनले दोस्रोमा ३ तथा तेस्रोमा २ विकेट हात पारेका थिए। यस्तै, अन्तिम खेलमा महत्वपूर्ण २ विकेट लिएका करण केसी तेस्रो खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए। एकदिवसीय खेलमा भने पारस खड्का ‘म्यान अफ दी म्याच सिरिज’ घोषित भएका थिए।
नेपालले एक दिवसीय मान्यता पाएपछि र एक दिवसीय शृंखला नै जितिसकेपछि अब नेपालमा पनि एक एदिवसीय शृंखला खेल्नसक्ने पूर्वाधारको आवश्यकता छ, कीर्तिपुरको एउटा मैदानले कहिलेसम्म नेपाली क्रिकेटलाई धानिरहने ?” उनको प्रश्न छ। राष्ट्रिय क्रिकेट टोलीले क्यानको साथ बिना पनि क्रिकेट खेल्न पाइरहेको छ। खेलको स्तर खस्कन दिएको छैन्। उपलब्धी हासिल गरिरहेको छ। तर यो अवस्था सधै नरहने दासको बुझाइ छ। राजनैतिक अस्थिरताले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई हेर्ने दृष्ट्रिकोण क्रिकेटले चिर्दै लगेकाले यसतर्फ ध्यान दिन दासले सरकारलाई आग्रह गरे। नेपालभन्दा पछि क्रिकेट खेल्न सुरु गरेका राष्ट्रले क्रिकेट संरचनामा धेरै प्रगति गरेपनि नेपालमा एउटा पनि गतिलो रंगशाला नहुँन दुःखको कुरा हो। नेपाली क्रिकेटलाई सक्षम नेतृत्व र राजनीतिक हस्तक्षेपमुक्त बनाउँदै अन्तर्राष्ट्रिय क्षेत्रसँग समन्वय गर्दै समग्र नेपाली क्रिकेटको विकास गर्नुपर्ने क्रिकेटप्रेमिको माग छ।
नेपाली क्रिकेटको इतिहास
नेपाली खेलकुदको पुरानो खेलमध्ये एक हो क्रिकेट। नेपाली क्रिकेट टोली टिम नेपाल, गोर्खाली तथा द राइनोज जस्ता नामले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने गर्दथ्यो। यो एउटा खेलाडीको समूह थियो। १९७० को दशकमा बेलायत भ्रमणबाट पढाइ सकेर फर्किने क्रममा तत्कालीन राणा शासकहरूले आफ्नै मनोरञ्जनका लागि नेपालमा क्रिकेट भित्र्याएको मानिन्छ। देशव्यापी रूपमा क्रिकेट विकास र विस्तार गर्ने उद्देश्यले २००४ मा नेपाल क्रिकेट संघको स्थापना भएको थियो। तर, २००७ सालमा राणा शासन नफ्याँकिएसम्म क्रिकेट राणा परिवार, उनीहरूका आफन्त, नातेदार र दौतरीमा मात्र सीमित थियो। उनीहरूले दरबार र टुँडिखेलमा क्रिकेट खेल्थे। राणाकालकै समयमा स्थापित क्रिकेट संघले २०१८ सालमा राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय संघको रूपमा दर्ता पाएसँगै यसलाई नेपाली क्रिकेटको औपचारिक विकासमा ठूलो उपलब्धि मानियो। राणा शासककै अधिनमा रहेककाले वि.स २०४० अघिसम्म नेपालमा क्रिकेट लोकप्रिय भइसकेको थिएन।
तर, २०४० कै समयमा राजधानी बाहिर बाराको कलैया, पर्साको वीरगन्ज, धनुषाको जनकपुर, बाकेको नेपालगन्ज, रुपन्देहीको भैरहवा लगायत तराईका जिल्लाहरूमा क्रिकेट खेल्न थालिएको इतिहास छ। त्यही बेला नेपाल क्रिकेट संघ अन्तर्गत क्षेत्रीय र जिल्ला संघहरू स्थापना भएपछि विद्यालयमा पनि क्रिकेट खेलको मोह बड्दै गयो। वि.स २०४४ सालमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को सदस्यता पाएको हो। त्यसको २ वर्षपछि एसियाली क्रिकेट परिषद् (एसीसी) को सदस्य बनेको थियो। २०५२ सालमा आइसीसीको एसोसिएट सदस्य बनेपछि नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रियस्तरमा खेल खेल्न सुरु गरेको हो। योसँगै विस्तारै नेपालमा क्रिकेटको लोकप्रियता बढ्न थालेको थियो। छिमेकी मुलुक भारतले क्रिकेटलाई तीव्र रुपमा विकास गरेपनि नेपालमा भने सीमित स्रोत साधनमै क्रिकेट खेल्नुपर्ने बाध्यता थियो। जुन अहिलेसम्म पनि कायमै छ। २०४४ मा आइसीसीसँगको सम्बन्धले देशभित्र यो खेल विस्तारमा थप योगदान पुर्यायो। नेपालले पहिलोपल्ट वि.स २०५२ सालमा मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसीसी ट्रफीमा सहगागि जनायो। जहाँ ब्रुनाइ र जापानलाई पराजित गरेपनि नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो।
सन् २००० मा नेपाली यु–१९ टोली विश्वकपमा आठौं भयो। युएईमा शारजहाँमा भएको आइसीसी ट्रफीको सेमिफाइनलमा पुगेर राष्ट्रिय टोलीले पनि देशको सान उच्च राख्यो। सो खेलमा नेपाल हङकङसँग पराजित हुँदै बाहिरिएको थियो। लगत्तै अर्को वर्ष यही प्रतियोगितामा जर्मनी र गिब्राल्टारलाई हराएर नेपालले क्रिकेटमा सफलता हात पार्यो। सो प्रतियोगितामा पनि नेपाल नामिबियासँग पराजित हुँदै समूह चरणबाट बाहिरिएको थियो। सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीमा युएईसँग पराजित हुँदै नेपाल उपविजेतामा सीमित भयो। त्यसलगत्तै नेपालले इमर्जिङ नेसन्स कपको आयोजना गर्यो। जहाँ भुटान र माल्दिभ्सलाई हराएर नेपालले उपाधि आफ्नो पक्षमा पार्यो।
सन् २००४ मा नेपालले पहिलोपटक आइसीसी अन्तरमहादेशीय कपका नाममा प्रथम श्रेणीको क्रिकेट खेल्यो। तर, मलेसियालाई पराजित गरेपनि युएईसँग बराबरीमा रोकिँदै नेपाल सेमिफाइनल पुग्नबाट चुक्यो। त्यस्तै, सन् २००४ मा एसीसी फास्ट ट्र्याक नेसन्स कपमा तेस्रो भएर नेपाल २००५ को एसीसी ट्रफीका लागि छानियो। जसमा पाँचौं भएर नेपाल आइसीसी ट्रफीमा खेल्न योग्य भयो। उक्त प्रतियोगितामा कतारलाई प्लेअफमा हराएर तेस्रो भएपछि नेपाल आयरल्याण्डमा हुने आइसीसी ट्रफीमा छनोट भएन। त्यही वर्ष आइसिसी अन्तरमहादेशीय कपमा युएईलाई हराएपछि हङकङसँग बराबरी गरेको नेपाल एसीसी फास्ट ट्रयाक नेसन्स कपमा उपविजेता भयो। त्यसपछि नेपाली टोलीले खेलेको अर्को खेल थियो २००८ मा विश्व क्रिकेट लिग डिभिजन पाँच। जर्सीमा भएको उक्त प्रतियोगितामा समूह ‘ए’ को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल टोली अन्तिम चारमा अफगानिस्तानसँग रोकियो। तर, अमेरिकालाई प्लेअफमा हराउँदै नेपालले तेस्रो स्थान हात पारेको थियो। प्रतियोगिताबाट दुई टोलीमात्र डिभिजन चारलाई छानिनेमा नेपाल तेस्रो भएपछि टोलीको विश्वकप २०११ खेल्ने सपना अधुरो रह्यो। सन् २०१० को फेब्रुअरीमा काठमाडौंमा सम्पन्न डिभिजन–५ नेपालले जित्यो। अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो। त्यही वर्ष भएको डिभिजन–४ मा नेपाल तेस्रो हुँदै ‘रेलिगेसन’बाट जोगियो।
सन् २०१२ मा डिभिजन चार जितेर डिभिजन तीनमा उक्लिएको नेपाल २०१३ को मार्चमा सम्पन्न डिभिजन तीनमा पनि विजेता बन्दै डिभिजन दुईमा उक्लियो। सन् २०१२ मा नेपालले क्रिकेटमा अर्को सफलता हात पार्यो। जुन थियो युएईमा भएको एसीसी ट्रफी एलिट कपमा संयुक्त रुपमा विजेता बन्दै नेपाल र युएईले उपाधि बाँडेको। जसले गर्दा नेपाल र युएईसँगै तेस्रो भएको अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाजस्ता टेस्ट खेल्ने देशसम्मिलित एसीसी इमर्जिङ नेसन्स प्रतियोगिताका लागि छानिए। सन् २०१३ मा काठमाडौंमा सम्पन्न एसीसी ट्वान्टी–२० कपमा फाइनल पुगेर युएईमा सम्पन्न विश्व ट्वान्टी–२० कप छनोटलाई छानियो। त्यस्तै, सन् २०१३ को मार्चमा सम्पन्न डिभिजन–३ मा पनि विजेता बन्दै डिभिजन–२ मा उक्लियो। सन् २०१४ जुनदेखि २०१५ आइसीसी विश्व टि–२० छनौट प्रतियोगितासम्म आइसीसीले नेपाललाई टि–२० अन्तर्राष्ट्रियको मान्यताप्राप्त टिमको श्रेणीमा राखेको थियो। गतवर्ष जिम्बावेमा भएको विश्वकप छनौटमा सातौ भएको नेपाल सन् २०२२ सम्म एक दिवसीय मान्यता प्राप्त देश बनेको छ। नेपालले अहिले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बलियो उपस्थीति जनाउन थालेको छ।
क्यान निलम्बन
“क्यान विवाद समाधान गर्न आइसीसीबाट गठित ५ सदस्यीय समितिले द्रुत गतिमा काम गरिरहेको छ। समितिले अहिले जिल्लामा भएको क्यानको निर्वाचन कतिको थियो भनेर अध्ययन गरिरहेको छ। यही वैशाखसम्ममा क्यानको निलम्बन फुकुवा हुनेमा हामी विश्वस्त छौँ”, निलम्बित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले भने। उनले थपे, “जिल्लामा भएको निर्वाचन पारदर्शी नभए फेरी त्यो ठाउँमा अर्को निर्वाचन हुनेछ।” अध्ययनपश्चात समितिले निष्कर्श निकाल्ने र आगामी रणनीतिको लागि कदम चाल्नेछ। क्यान निलम्बनले क्रिकेटका पूर्वाधार र अन्य गतिविधि गर्न नपाएकाले नेपाली क्रिकेटको भविष्य ३–४ वर्ष पर धकेलिएको प्याकुरेल स्विकार्छन्। नेपाली क्रिकेटलाई अघि बढाउन विद्यालयस्तरमा गतिविधि हुनुपर्छ त्यो भइरहेको छैन्।
गाउँ गाउँ, जिल्ला प्रवेश र राष्ट्रमा खेलाडीको पहिचान गर्न धेरै भन्दा धेरै प्रतियोगिता हुनुपर्ने हो। तर, दुर्भाग्य क्यान निलम्बनले यो सब भइरहेको छैन्। आफ्नो मेहेनत र निजी क्षेत्रको लगानीमा भइरहेका प्रतियोगितामा खेलाडी सिमित हुनु परेको छ। तरपनि क्रिकेटले राष्ट्रलाई जुन उचाइमा पुर्याएको छ। त्यो सह्राहनीय ठान्छन् महासचिव प्याकुरेल। क्रिकेट खेलको विकासका लागि एकेडेमी र पर्याप्त मात्रामा पुर्वाधार आवश्यक हुन्छ। सरकारले प्रत्येक वर्ष खेल क्षेत्रका लागि वजेट छुट्याएपनि त्यो प्रयाप्त छैन्। भइरहेका पूर्वाधार निर्माणका काममा पनि ठिलाई भइरहेको छ। अझ योजना बनाएर काम नगर्ने परिपाटी क्रिकेटमा पनि छ। क्यान विवाद समाधान भइ घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीहरूको हेरचाह लगायतमा ध्यान जानु अहिलेको आवश्यकता हो। क्रिकेट विकासका लागि सक्षम नेतृत्व, क्रिकेट बोर्ड र घरेलु संरचनालाई बलियो बनाउनु आजको आवश्यकता भएपनि नेपालको सन्दर्भमा त्यो विल्कुलै फरक छ। क्यानका गतिविधि शून्य रहँदा खेलक्षेत्रमा भविष्य देखेका खेलाडी अन्यत्रै पलायन हुनुपर्ने बाध्यता बनिरहेको छ।
घरेलु प्रतियोगिता
निजी क्षेत्रको साथ र सहयोगले घरेलु प्रतियोगिताले उच्च स्थान लिइरहेको छ। हाल राष्ट्रिय टोलीमा परेर उत्कृष्ट प्रदर्शन गरिरहेका अन्डर–१९ प्लेयरलाई पनि खेलमा निखारता ल्याउन यस्ता लिगले ठूलो सहयोग गरिरहेको छ। राष्ट्रिय स्तरमा यति ठूला प्रतियोगिता, त्यसमापनि निजी क्षेत्रको साथ र सहयोगले नेपाली क्रिकेटरलाई उत्साहित बनाइरहेको छ। हुनपनि नेपाली क्रिकेट खेलाडीले निकै थोरै खेल खेल्न पाउँछन्। कम खेल खेल्न पाउँदा खेलाडीको आर्थीक अवस्थाका साथै खेलमा निखारता ल्याउन निकै कठिन हुन्छ। व्यवसायीक घरानाहरूको सहभागिता हुने भएकाले अहिलेका लिगले खेलाडीलाई राम्रै आम्दानी भइरहेको छ। यी लिगले केही सदसम्म भएपनि खेलाडीलाई ब्यस्त बनाएको छ।
नेपालमा भइरहेका तीन मुख्य लिग र अन्य क्रिकेट प्रतियोगिताले क्रिकेटमा भविष्य र अवसर खोजिरहेका खेलाडीलाई खेलमा आफूलाई प्रमाणित गर्न मौका दिएको छ। छिमेकी राष्ट्र भारतमा बिगत ८–९ वर्षदेखी भइरहेको आइपिएलमा खेलाडीका लागि करोडौं रकम खर्चिरहँदा नेपालमा भने एउटा पनि अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला छैन्। तर, भारतभन्दा नेपाल क्रिकेटमा धेरै पछि छ। त्रिवि मैदान र मुलपानी मैदानका अलावा पोखरा, विराटनगर, बारा, वीरगन्ज, जनकपुर, भैरहवा, बाँके र धनगढी लगायतका क्रिकेट मैदान भएपनि ती अन्तर्राष्ट्रिय रंगशालाको रुपमा छैनन्। एकपछि अर्को सफलता हासिल गरिरहेको नेपाली क्रिकेटरले स्वदेशमा नै सुविधासम्पन्न रंगशालामा खेल्ने सपना सार्थक बनाउन र घरेलु प्रतियोगितालाई बलियो बनाउन एउटा गतिलो रंगशालाको खाँचो छ।
करण केसीको त्यो इनिङ
आइपिएलमा पहिलो पटक नेपाली खेलाडी
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा
२० बिघा ६ कट्ठामा निर्माण हुने रंगशालाको लागत ३ अर्व रुपैयाँको छ। कमलको फूल आकारमा निर्माण हुने रंगशाला २५ हजार दर्शक क्षमताको हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओली लगायत शीर्षस्त नेताको उपस्थितिमा एक कार्यक्रमको आयोजना गर्दै फाउन्डेसनले क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेपछि आम नेपाली खुसी भएका छन्। रंगशाला निर्माण गर्नु सजिलो कार्य नभएकाले सबैको साथ र सहयोग आवश्यक भएको धुर्मुसको भनाई थियो। यो रंगशाला अन्य देशको भन्दा फरक हुने र नेपालको पहिचान दिलाउने खालको रहेको कार्यक्रममा जानकारी दिइयो। अत्याधुनिक रंगशालामा क्रिकेट मैदानका अलवा अभ्यास गर्ने ठाउँ र एकेडेमी हुनेछ। त्यस्तै रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केटबल, भलिबल, डन्डीबियो, लन टेनिसलगायतका खेलमैदान रहनेछन्।
प्रकाशित: २० माघ २०७५ १५:०५ आइतबार