खेल

आर्मी र मनाङ् उपाधिका लागि भिड्दै

ट्रफीका साथ मनाङ र आर्मीका कप्तान । तस्बिर : अमर/नागरिक

इटहरी – दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदै छ।

इटहरी रंगशालामा दिउँसो १ बजे हुने फाइनल जित्ने दुवै टोलीले दाबी गरेका छन्। अघिल्लो वर्ष थ्री स्टार क्लबले मनाङ मर्स्याङ्दी क्लबलाईं १–० गोलले हराउँदै उपाधि प्राप्त गरेको थियो। गत वर्षको उपविजेता मनाङले यसपटक उपाधि हात पार्ने रणनीतिमा छ। गोल्डकपको विजेतालाई १६ लाख र उपविजेतालाई ८ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

अघिल्लो वर्षको मदन भण्डारी स्मृति इटहरी गोल्डकपको विजेतालाई एघार लाख र उपविजेतालाई पाँच लाख नगद पुरस्कार दिइएको थियो। उत्कृष्ट प्रर्दशन गरेका दुवै टिमका प्रशिक्षक तथा कप्तानले शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा उपाधि जित्ने दाबी गरे। आर्मीका कप्तान भरत खवासले मनाङ पनि उत्कृष्ट टिम भएकाले नयाँ रणनीति बनाएर खेल्ने बताए। ‘हाम्रो टिममा स्ट्राइकर घाइते भएकाले केही अफ्ठ्यारो भए पनि विपक्षी टिमलाई जितिनेछ,’ उनले भने,‘ आर्मीका नवयुग श्रेष्ठ घाइते छन्। जसले गर्दा केही असर गर्नेछ।’

मनाङ्का कप्तान सुजल श्रेष्ठले मनाङले उत्कृष्ट प्रर्दशन गर्दै उपाधिनजिक पुगेकाले नतिजा आफ्नो पक्षमा हुने दाबी गरे। ‘आर्मीलाई विगतमा पनि पराजित गरेकाले उच्च मनोबलका साथ खेलाडी मैदान उत्रार्नेछौं,’ उनले भने, ‘यसपटक उपाधि  जित्दै इतिहास बनाउनेछौं।’ गत वर्ष गोल्डकपमा उपविजेतामा सीमित भएको पीडा यसपटक आफ्नो पक्षमा पारेर बिर्सने उनले जिकिर गरे।

गोल्डकपमा आर्मीले क्वार्टरफाइनलमा साबिकको विजेता थ्री स्टारलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै विजयी यात्रा सुरु गरेको थियो। पहिलो सेमिफाइनलमा ४–१ को  गोल अन्तरले मेची नेत्रालय काँकडभिट्टा झापालाई पराजित गदैं आर्मीले फाइनलको यात्रा तय गरेको थियो। मनाङले आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी यात्रा सुरु गरेको थियो।

सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ उपाधिनजिक पुगेको थियो। पूर्वकै पूरानो राष्ट्रिय जागृति क्लबको आयोजनामा आठौं संस्करणसम्म हुँदै आएको स्वर्गीय दानबहादुर फुयाँल स्मृति गोल्डकपलाई परिमार्जन गरी तीन वर्षसम्म इटहरी गोल्डकपको रूपमा खेल हुँदै आएको थियो।

अघिल्लो वर्षदेखि भने मदन भण्डारी गोल्डकपलाई निरन्तरता दिन थालेको हो। सर्वोत्कृष्ट खेलाडीलाई ४२ इन्चको टिभीसहित नगद ३० हजार प्रदान गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार र सर्वाधिक गोलकर्ताले तीस हजार रुपैयाँ नगद प्राप्त गर्नेछ।

प्रकाशित: १९ माघ २०७५ ०४:२८ शनिबार

मदन_भण्डारी इटहरी_गोल्डकप त्रिभुवन_आर्मी मनाङ_मर्स्याङ्दी_क्लब