खेल

मनाङ मर्स्याङ्दी फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

पुलिसविरुद्ध बल रोक्ने प्रयास गर्दै मनाङका विशाल राई (हरियो), साथमा पुलिसका अजित भण्डारी। तस्बिर : नागरिक

इटहरी – विदेशी खेलाडी अफिज ओलावालेको एक मात्र गोल निर्णायक बन्दा मनाङ मर्स्याङ्दी क्लब काठमाडौं, इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मनाङले इटहरी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मीसँग भेट पक्का गरेको हो। मदन भण्डारी गोल्डकपको विजेतालाई १६ लाख र उपविजेतालाई आठ लाख राशि पुरस्कार प्रदान गरिनेछ।

मनाङलाई उपाधिनजिक पुर्याउन अफिजले ४३औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो। मैदानको मध्यभागबाट पाएको पासलाई अफिजले एकल प्रयासमा जाली चुमाउन सफल भएका थिए। पहिलो हाफमा १–० ले पछि परेको पुलिसले दोस्रो हाफमा खेलमा फर्किन प्रयास गरे पनि मनाङको बलियो रक्षापंक्तिलाई चिर्न सकेन। पछि परेको अवस्थामा खेलमा फर्किन प्रयास गरेको पुलिसले पाएका सुन्दर मौका सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिनुपरेको हो।

खेलमा निर्णायक गोल गरेका अफिज म्यान अफ दी म्याच भए। उनले नगद दश हजार रुपैयाँ पाए। सर्वाधिक सातौं पटक लिग च्याम्पियन बनेको मनाङले खेलको सुरुआतदेखि विभागीय टोली पुलिसलाई दबाबमा राखेको थियो।

उपाधिनजिक पुगेको टोली मनाङका प्रशिक्षक फुजा तोपेले टोलीले अपेक्षाअनुसारको खेल प्रदर्शन गरेको प्रतिक्रिया दिए। ‘अब अन्तिम फाइनलमा पुरानै रणनीतिअनुसार खेलिनेछ,’ प्रशिक्षक तोपेले भने, ‘आर्मीको टोली अन्य टोलीभन्दा बलियो देखिँदै आएको छ। त्यसैले राम्रो रणनीति बनाएर खेल्न जरुरी छ।’

उता पराजित टोलीका पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीले राम्रो खेल खेले पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको बताए।

‘समग्रमा हाम्रा खेलाडीले राम्रो खेलेका हुन्। अनमार्किङका कारण मनाङले अग्रता लिन सफल भयो,’ प्रशिक्षक थापाले भने, ‘दिइसकेको ह्यान्डबल निर्णय रेफ्री रोक्नु हाम्रा लागि  टर्निङ प्वाइन्ट भयो। यदि उक्त अवसर हामीले पाएको भए समीकरण अर्कै हुन सक्थ्यो।’ ‘ए’ डिभिजन लिग विजेता मनाङ र विभागीय टोली त्रिभुवन आर्मीबीच शनिबार फाइनल खेल हुनेछ।

प्रकाशित: १८ माघ २०७५ ०४:३० शुक्रबार

मनाङ_मर्स्याङ्दी_क्लब मदन_भण्डारी_गोल्डकप अफिज_ओलावाले फाइनल