खेल

दोस्रो मदन भण्डारी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

आर्मी (हरियो ) र झापाका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिर : नागरिक

इटहरी – मेची नेत्रालय काँकडभिट्टालाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै बुधबार त्रिभुवन आर्मी क्लब इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

आर्मीले शनिबार अन्तिम फाइनलमा बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस र मनाङ मर्स्याङ्दी क्लबबीच हुनेछ।

इटहरी रंगशालामा बुधबार झापालाई आर्मीले सुरुदेखि नै दबाबमा राखेको थियो। खेलको १०औं मिनेटमा झापाको आत्मघाती गोलसँगै आर्मीले अग्रता लियो। झापाका ओलु सोलाले गोलकिपरलाई दिएको पास गोलमा परिणत भएको थियो।  पहिलो हाफअन्तर्गत अतिरिक्त समयको पहिलो मिनेटमै आर्मीका तर्फबाट अर्को गोल थपियो। दोस्रो गोल सन्तोष तामाङले गरे। उनले डी बक्सभित्रबाट लामो प्रहार गरी गोल गरे।

खेलकोे ५९औं मिनेटमा आर्मीका विवेक बस्नेतले आफ्नै प्रयासमा गोल गरी टोलीलाई ३–० ले अग्रता दिलाए। उनले गोल गरेको एक मिनेटपछि झापाका तर्फबाट खमिर गिलसन कन्दङ्वाले गोल गर्दै आफ्नो टोलीलाई शून्य हुनबाट जोगाए। उनले दीपेश श्रेष्ठले दिएको पासलाई सदुपयोग गरेका थिए।

आर्मीका भरत खवासले थपिएको समयको अन्तिम मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई ४–१ को अग्रता दिलाए। खेलको म्यान अफ दी म्याच आर्मीकै सन्तोष तामाङ भए। उनले नगद दश हजार रुपैयाँ पाए।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टिमवर्क र पाएका अवसर गोलमा परिणत हुँदा  सहजै जित हासिल भएको बताए। ‘हाम्रो टोलीले जुन रणनीति लिएको थियो, त्यसअनुसार खेलाडीले अपेक्षा गरेअनुसार खेल नखेले पनि सहजै जित निस्कियो,’ उनले भने।

झापाका प्रशिक्षक नवीनबहादुर बस्नेतले धेरै ठाउँबाट खेलाडी बटुल्दा तालमेल नमिली हार भएको बताए। मदन भण्डारी गोल्डकपको विजेतालाई १६ लाख र उपविजेतालाई आठ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ।

                            

प्रकाशित: १७ माघ २०७५ ०४:१२ बिहीबार

त्रिभुवन_आर्मी_क्लब मदन_भण्डारी_स्मृति_अन्तर्राष्ट्रिय_इटहरी_गोल्डकप फाइनल मेची_नेत्रालय_काँकडभिट्टा