खेल

नेपाल उपविजेतामा सीमित, थाइल्याण्ड ७० रनले विजयी

फाइल फाेटाे

काठमाडौं – आयोजक टोली थाइल्याण्डसँग ७० रनको फराकिलो हार ब्यहोर्दै नेपाली राष्ट्रिय महिला टोली टि–२० स्म्यास क्रिकेटको उपविजेतामा सीमित भएको छ। योसँगै १२ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटको फाइनलमा पुगेको नेपाली टोली उपाधि जित्न पुनः बञ्चित भएको छ।

नेपाल पछिल्लो पटक सन् २००७ मा मलेसियामा भएको एसिसि महिला क्रिकेटको फाइनलमा पुगेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सहभागितामै फाइनल पुगेको नेपाल त्यतिखेर बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

तेर्थई क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा थाइल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य पछ्याएको नेपाल १७.२ ओभरमा अलआउट हुँदै ५१ रनमा समेटिएपछि थाइल्याण्डले उपाधि जितेको हो।

नेपालका लागि नेरी थापाले सर्वाधिक १७ र सीता रानामगरले १३ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। डोली भट्ट, कबिता कुँवर, आरती बिडारी र इन्दु बर्मा शून्य रनमा आउट हुँदा रोमा थापाले २, सरिता मगरले ५ ,कप्तान रुबिना क्षेत्रीले ५, करुणा भण्डारीले ४ र ओपनर काजल श्रेष्ठ १ रनमा आउट भए। नेपाललाई सस्तैमा समेट्न थाइल्याण्डकी सुलिपोर्न लोमीले ३ विकेट लिइन।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले नाटाकान चान्थमको नटआउट ६९ तथा नारुमोल चाइवाइको २७ रनको मद्दतमा निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय २२ रनको बनाएका थियो। चान्थमले ६७ बलमा ४ चौकाको सहायतामा ६९ रनमा नट आउट रहिन्। चाइवाइलाई नेपालकी कप्तान रुविना क्षेत्रीले रनआउट गरेकी थिइन्।

त्यसपछि क्रिजमा आएकी चान्डिया सुत्थिरुवाङले नटआउट १९ रन बनाइन्। नेपालका कुनै बलरले विकेट लिन सकेन्। नेपाल र थाइल्यान्डले पाँचै खेलमा अपराजित रहँदै उपाधि यात्रा तय गरेका थिए। सेमिफाइनलमा नेपालले इन्डोनेसिया र थाइल्याण्डले युएईलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए। थाइल्याण्डमै हुने आइसिसि ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारी स्वरुप थाइल्याण्डले १० टोली सहभागी यस प्रतियोगिताको आयोजना गरेको थियो।

प्रकाशित: ५ माघ २०७५ ०९:३४ शनिबार

महिला_टि–२०_स्म्यास_क्रिकेट नेपाली_राष्ट्रिय_महिला_टोली उपविजेता थाइल्याण्ड