खेल

मनमोहन स्मृति कप : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

इटहरी – विभागीय टोली त्रिभुवन आर्मी सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आर्मीले उपाधिका लागि शनिबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ।

इनरुवा खेल मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलको लो स्कोरिङ म्याचमा आर्मीले ६ विकेटको जित निकालेको थियो। आर्मीले प्रदेश–१ लाई हराएर जित निकालेको हो। पहिलो सेमिफाइनलमा प्रदेश–७ लाई पाखा लगाउँदै नेपाल पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको थियो। शुक्रबारको खेलमा १ सय १० रनको झीनो लक्ष्य पछ्याएको आर्मीले १९.२ ओभर खेल्दै ४ विकेटको क्षतिमा जित निकाल्यो।

झीनो लक्ष्य पछ्याएको आर्मीको सुरुआत भने खराब रह्यो। टिमको खातामा ५ रन मात्र हुँदा पहिलो ओभरको अन्तिम बलमा आफ्नो पहिलो विकेट गुमाएको आर्मीले तेस्रो ओभरमा दोस्रो विकेट गुमायो।  आर्मीले पाँचाैं ओभरको चौथो र अन्तिम बलमा गरी थप दुई विकेट गुमाएको थियो। २५ रनमा ४ महत्वपूर्ण खेलाडी गुमाएको आर्मीका लागि राजेश पुलामी र रोहित पौडेलले इनिङ सम्हाल्दै टिमलाई फाइनलको यात्रा तय गराए।  आर्मीलाई जित दिलाउन रोहित पौडेलले नट आउट ५८ रनको महत्वपूर्ण इनिङ खेले।

अर्धशतकीय इनिङ खेलेका पौडेलले ४४ बलको सामना गर्दै ७ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए। आर्मीका ब्याट्सम्यान राजेश पुलामीले नटआउट रहँदै २३ रन बनाए। प्रदेश नंं. १ का लागि मनोज मण्डलले २ र पुष्प थापाले १ विकेट हात पारे। टस जितेर आर्मीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको प्रदेश–१ ले १ सय ९ रन मात्र जोड्न सक्यो। आर्मीका बलरसामू प्रदेश–१ का ब्याट्सम्यान क्रिजमा जम्न नसक्दा २५.४ ओभरमा  मात्र १ सय ९ रन बनाउँदा सबै विकेट गुमायो।

प्रदेश–१ का लागि रवि रोयले २२ र कप्तान पुष्प थापाले १९ रन बनाए। मुकुन्द यादवले १७ रन जोड्दा मिनास थापा र श्रवण यादवले समान १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। प्रदेश–१ लाई सस्तैमा समेट्न आर्मीका हरिबहादुर चौहानले ५ ओभर बलिङ गर्दै ९ रन दिएर महत्वपूर्ण ४ विकेट चट्काए। बिक्रम सोब, जितेन्द्र मुखिया, साहब आलम, कुशल मल्ल र रोहित पौडेलले एक–एक विकेट हात पारे। खेलको म्यान अफ दी म्याच हरि चौहान घोषित भए।

शनिबार हुने फाइनल खेलकोे विजेताले नगद चार लाख एक हजारसहित सिल्ड पाउनेछन्।  उपविजेताले दुई  लाख एक हजार रुपैयाँसहित शिल्ड प्राप्त गर्नेछ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै, बेस्ट ब्याट्समेन र बेस्ट बलरलाई जनही २० हजार एक सय रुपैयाँ नगद प्रदान गरिनेछ। प्रतियोगितामा उदीयमान खेलाडीलाई १० हजार र अनुशासित टिमले १५ हजार प्राप्त गर्नेछ। सेमिफाइनलबाट बाहिरिएका प्रदेश–१ र प्रदेश–७ ले २५–२५ हजार प्रोत्साहन रकम प्राप्त गरेका छन्।

प्रकाशित: ५ माघ २०७५ ०३:४९ शनिबार

विभागीय_टोली मनमोहन_स्मृति_राष्ट्रिय_क्रिकेट त्रिभुवन_आर्मी नेपाल_पुलिस फाइनल