खेल

खप्तड गोल्डकप : दिल्लीकाे पाेष्टमा च्यासलकाे आधा दर्जन गाेल

दिल्ली फुटबल क्लबविरुद्ध बल नियन्त्रण गर्दै च्यासलका हेमन्त थापा मगर (रातो) । तस्बिर : नागरिक

धनगढी–विदेशी खेलाडी अर्मान्ड मोएनको ह्याट्रिकप्रेरित भ्याली च्यासल युवा क्लबले सुदूरपश्चिम खप्तड गोल्डकपमा दिल्ली फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ।

धनगढी रंगशालामा बिहीबार भएको तेस्रो खेलमा च्यासलले शुरुआतदेखि नै दबाब बनाएको थियो। खेलको १४औं मिनेटमा एल्भिसको पासमा सन्जोग राईले सहजै गोल गर्दै च्यासललाई अग्रता दिलाए। पहिलो गोल भएको १७ मिनेटपछि हेमन्त थापामगरले गोल गरेर अग्रता दोब्बर बनाएका थिए।

३१औं मिनेटमा उनले टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। ४०औं मिनेटमा सन्जोग राईको लामो पासलाई नियन्त्रणमा लिँदै अर्मान्डले पेनाल्टी क्षेत्रभित्रबाट गोल गरेका थिए।  पहिलो हाफ जस्तै दोस्रो हाफमा पनि खेल अवधिभर च्यासलले खेलमा दबाब राखिरह्यो। ६१औं मिनेटमा अर्मान्डले गोल गर्दै च्यासलको अग्रता ४–० ले अगाडि बढाए।

‘नयाँ मैदान भए पनि खेलाडीले उत्कृष्ट खेले। डेब्यु गरेका फरवार्डको प्रदर्शन अझ उत्कृष्ट हुँदा फराकिलो अन्तरले जित हात पार्याैं,’ च्यासलका प्रशिक्षक राजुकाजी शाक्य

७३औं मिनेटमा अर्मान्डले गरेको प्रहार गोलमा परिणत भयो। उनको प्रहार कमजोर भए पनि दिल्लीका गोलकिपरले रोक्न नसक्दा च्यासलले ५–० को अग्रता लियो। इन्ज्युरी समयको पहिलो मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई ६–० को अन्तरको जित दिलाए। म्यान अफ दी म्याच बनेका अर्मान्डले १० हजार रुपैयाँ प्राप्त गरे।

जितसँगै च्यासलले क्वार्टरफाइनलमा रुस्लान थ्री स्टारसँगको भेट पक्का गर्यो। जितपछि च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले नयाँ मैदान भए पनि खेलाडीले उत्कृष्ट लयमा खेलेको बताए। ‘नयाँ मैदान भए पनि खेलाडीले उत्कृष्ट खेले,’उनले भने,‘डेब्यु गरेका फरवार्डको प्रदर्शन अझ उत्कृष्ट हुँदा फराकिलो अन्तरले जित हात पार्याैं।’

पराजित टोलीका प्रशिक्षक बिएस मेहेराले खेलाडीले सोचे अनुसार खेल्न नसकेको बताए। ‘पहिलो रोजाईका ६ खेलाडी भारतमै ब्यस्त भए। आजको खेलमा खेलाडीले सोचेजस्तो खेल्न सकेनन्।’ उनले भने। शुक्रबार रुपन्देहीको गोर्खा ब्वाइज र काठमाडौंको सिएमजी क्लब संकटाबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २६ पुस २०७५ १३:२१ बिहीबार

खप्तड_गोल्डकप च्यासल_युवा_क्लब दिल्ली_फुटबल_क्लब