खेल

खप्तड गोल्डकप : रानाको ह्याट्रिकमा पुलिसको विजयी सुरुवात

मोरङविरुद्ध बल अगाडि बढाउने प्रयासमा पुलिसका तिर्थ राना । तस्बिर : दिलबहादुर/नागरिक

धनगढी – तीर्थ रानाको ह्याट्रिकप्रेरित नेपाल पुलिस क्लबले बुधबार धनगढीमा जारी अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपमा मोरङ फुटबल क्लबलाई ३–० ले पराजित गरेको छ।

पहिलो हाफमा दुई र दोस्रो हाफमा १ गोल गर्दै पुलिसका तीर्थ रानाले खेलमा ह्याट्रिक पूरा गरेका हुन। खेलको सुरुआतबाटै पुलिसले खेलमा दबाब बनाएको थियो। खेलको साताैं मिनेटमै रानाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। २५औं मिनेटमा मोरङका बालाको फ्रिकिकमा गोलरक्षकले पन्च गरेको रिबाउन्डमा विदुर रिजालको प्रहार गोलमा परिणत हुन सकेन।

खेलमा दबाब राखेका पुलिसले ३५औं मिनेटमा दोस्रो गोल गर्दैै अग्रतालाई दोव्बर बनाएका थिए। अभिषेक रिजालले विङबाट एक्लै बढाएको बललाई पेनाल्टी क्षेत्रभित्र गोलकिपरसमेत बिट गरेर दिएको पासमा तीर्थले हेडमार्पmत गोल गरेका थिए।

‘नयाँ मैदानमा सेट हुन समय लागे पनि खेलाडी छिट्टै लयमा फर्किए। जसको कारण राम्रो नतिजा आयो। अबको खेलमा पनि राम्रो प्रदर्शन गर्नेछौँ,’ पुलिसका प्रशिक्षक अनन्त थापा।

४३औं मिनेटमा तेज तामाङले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा पोस्टको थोरै माथिबाट बाहिरिएको थियो। दोस्रो हाफमा पनि आक्रामक खेलको पुलिसले खेलमा दबाब बनाइ राखेको थियो। ५७औं मिनेटमा सन्तोस हेमरुनको क्रसमा निरकुमार राईको भली प्रहार गरे पनि गोल हुन सकेन।

लगत्तै निरकुमारले नै छोटो कर्नरमा सीधै पोस्टमा गरेको प्रहार क्रसबारमा लागेर फर्कियो। ७५औं मिनेटमा अभिषेकको पासमा सन्तोस हेमरुनले गोल गर्ने मौकालाई सदुपयोग गर्न सकेनन्। दोस्रो हाफको इन्जुरी समयमा अभिषेक रिजालको पासमा तीर्थले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। तीर्थले खेलको म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे।

पुलिसका प्रशिक्षक अनन्त थापाले मैदान केहि नयाँ भएकोले सेट हुन समय लागे पनि खेलाडीले राम्रो खेलेको बताए। ‘नयाँ मैदानमा सेट हुन समय लागे पनि  खेलाडी छिट्टै लयमा फर्किए,’ उनले भने, ‘नतिजा हातमा आउँदा खुशी लागेको छ अबको खेलमा पनि राम्रो प्रदर्शन गर्नेछौं।

पराजित टोली मोरङका प्रशिक्षक संजिव बुढाथोकीले पुलिसको टिम बलियो रहेको र बलियो टिमसँग डटेर खेलाडी खेल्न नसकेको बताए। ‘पुलिस बलियो टिम हो। हाम्रो खेलाडी जसरी बलियो टिमसँग डटेर खेल्नुपथ्र्यो खेल्न सकेनन्’उनले भने। पुलिसले अब पुष २९ गते हुने क्वार्टरफाइनलमा मनाङ मर्स्यादीसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार च्यासल युवा क्लब र दिल्ली युनाइटेडबीच खेल हुनेछ।

प्रकाशित: २६ पुस २०७५ ००:१५ बिहीबार

खप्तड_गोल्डकप नेपाल_पुलिस_क्लब तीर्थ_राना ह्याट्रिक