खेल

इपिएल क्वालिफायर–२ : फाइनल प्रवेशका लागि काठमाडौं र भैरहवा भिड्दै

काठमाडौं – राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा बिहीबार काठमाडौं किङ्स इलाभेन र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ११ः३० बजे सुरु हुनेछ।

काठमाडौं पहिलो क्वालिफायरमा ललितपुर प्याट्रियट्ससँग १ विकेटले पराजित भएको थियो। ललितपुरसँग पराजित भएपनि काठमाडौंले भने फाइनल प्रवेशको लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो। ललितपुरविरुद्ध फितलो ब्याटिङ गरेको काठमाडौं आजको खेलमा सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

जारी इपिएलमा यी दुई टिम दोस्रो पटक आमने सामने हुँदैछन्। लिग चरणको खेलमा काठमाडौंले भैरहवालाई ७ विकेटले पराजित गरेको थियो। साविकको उपविजेता समेत रहेको भैरहवाले इलिमिनेटरमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।

आजको विजेताले उपाधिका लागि शनिबार ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ। काठमाडौं रोहन मुस्तफा र भैरहवा शरद भेषावकरको कप्तानीमा मैदान उत्रनेछन्।

प्रकाशित: ५ पुस २०७५ ०५:२५ बिहीबार

इपिएल क्वालिफायर–२ काठमाडौं_किङ्स भैरहवा_ग्लाडीयटर्स