खेल

साविक विजेता विराटनगर पराजित हुँदा चितवनकाे भाग्य खुल्याे

काठमाडाैं - डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिगबाट वाहिरिएको छ। प्लेअफमा स्थान बनाउन लिग चरण अन्तर्गतको अन्तिम खेल जित्नै पर्ने दवाबमा रहेको पारस खड्का नेतृत्वको विराटनगर सोमबार भएको खेलमा काठमाडौं किंग्स ११ सँग ५ विकेटले पराजित भएको हो।

विराटनगरको हारसँगै चितवन प्लेअफमा स्थान बनाउन सफल भएको छ। सोमबारको खेलमा विराटनगरले जित हात पारेको भए चितवन प्रतियोगिताबाट वाहिरिने थियो। चितवन र विराटनगरको समान ४ अंक भएपनि रनरेटका आधारमा चितवन प्लेअफमा प्रवेश गरेको हो।

यो खेल सँगै लिग चरणका सम्पूर्ण खेल समाप्त भएका छन्। मंगलबार हुने प्रतियोगिताको पहिलो क्वालिफायरमा शिर्ष स्थानमा रहेको ललितपुर प्याट्रियट्स र दोस्रो स्थानको काठमाडौंबीच खेल हुनेछ। यो खेलको विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोलीले पुन: फाइनल प्रवेशका लागि इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायरमा विहिबार प्रतिष्पर्धा गर्नेछ। इलिमिनेटरमा भने भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच बुधबार खेल हुनेछ। फाइनल खेल भने शनिबार हुनेछ। 

सोमबार भएको लिग चरणको अन्तिम खेलमा चौथो जित निकाल्ने क्रममा काठमाडौंले विराटनगरलाई ५ विकेटले पराजित गर्यो । विराटनगरले जितका लागि दिएको १ सय १ रनको लक्ष्य काठमाडौंले १७ दशमलव ५ ओभरमा ५ विकेटको क्षतीमा भेट्टायो। काठमाडौंका लागि केभिन ओव्रायनले अविजीत रहदै सर्वाधिक ४५ रन बनाए। यस्तै प्रदिप शाहुले अविजित २१ तथा अमित श्रेष्ठले १४ रन बनाए। १० दशमलव १ ओभरमा ४८ रनमा ५ विकेट गुमाइसकेको अवस्थामा रहेको काठमाडौंको टोलीलाई जित दिलाउन ओव्रायनकाे इनिङ महत्वपूर्ण रह्यो। विराटनगरका कप्तान पारस खड्का र मेर्विले समान २/२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै एक सय रन जोडेको थियो। विराटनगरका सुमित महर्जनले २५ तथा हरी चौहानले २२ र पारसले २१ रन बनाए। विराटनगरका ७ खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन्। विराटनगरको इनिङ ध्वस्त पार्ने क्रममा काठमाडौंका ओव्रायनले ३ तथा रोहन मुस्तफा, प्रदिप शाहु र विक्रम भुसालले समान २/२ विकेट लिए। अलराउण्ड प्रदर्शन गरेका ओव्रायन म्यान अफ दि म्याच घोषित भए।

 

प्रकाशित: २ पुस २०७५ १०:२७ सोमबार

एभरेष्ट_प्रिमियर_लिग काठमाडौं_किंग्स_११ विराटनगर_वारियर्स