खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिग : आर्मीकाे अपराजित यात्रामा पूर्णविराम

आर्मीविरुद्ध बल नियन्त्रणको प्रयास गर्दै मनाङका अञ्जन बिष्ट (हरियो) । तस्बिर सौजन्य : एन्फा

काठमाडौं - अपराजित प्रतिद्वन्द्वी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै अर्को अपराजित टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी नतिजा हात पारेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको दोस्रो खेलमा मनाङलाई जिताउन विशाल राईले ३१ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो। विदेशी खेलाडी एडिलाजाले कौशलता पूर्वक दिलाएको पासलाई विशालले जाली चुमाएका थिए।

जितसँगै मनाङले लिगमा अपराजित यात्रालाई शुक्रबार पनि निरन्तरता दिएको छ। मनाङ अहिले सम्म सम्पन्न आठ खेल मध्ये सबै खेलमा स्पष्ट जित निकाल्ने एक्लो टोली भएको छ। यस अघिका ७ खेल मध्ये मा पाँच जित र दुई बराबरी खेलेको आर्मीमाथि झिनो जित निकाल्दै साविकको विजेता मनाङले लिगमा उपाधि जित्ने दाबेदारीलाई पनि मजबुत बनाएको हो।

शुक्रबारको जितसँगै शीर्ष स्थानको मनाङको तालिकामा २४ अंक भएको छ।  समान ८ खेलबाट २१ अंक जोडेको संकटा तालिकाको दोस्रो स्थानमा अटाउँदा एक कम खेलेको थ्री स्टार १८ अंकका साथ तेस्रो स्थानमा छ। उता लिगमा पहिलो नतिजा सुम्पिएको आर्मीको ८ खेलबाट १७ अंक छ। आर्मी भन्दा मनाङ ७ अंकले अगाडि छ।

सुरुआतमा केही दबाबमा रहेको आर्मीले सम्हालिएको प्रदर्शन गर्दै खेलमा फर्किन प्रयास गरे पनि पहिलो हाफमा बराबरी गोल फर्काउन सकेन। आर्मीले बनाएका केही राम्रा अवसरलाई मनाङका गोलकिपर विशाल श्रेष्ठले विफल पारेका थिए भने केही राम्रा मुभलाई मनाङका रक्षकले विफल पारिदिएका थिए। पहिलो हाफको इन्जुरी समयमा आर्मीले गोल फर्काउने प्रयास गरेको थियो। पेनाल्टी बक्स भित्रबाट टंक बस्नेतले दिएको क्रसबलमा आर्मीका जितेन्द्र कार्की चुक्दा बराबरीको अवसर गुमेको थियो।

४५औं मिनेटमा जर्ज प्रिन्स कार्कीले ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक मनाङका गोलकिपर विशालले मुस्किलले बचाउँदै बराबरीको संकट टारेका थिए। निकै प्रतिस्पर्धात्मक खेलको ४३ औं मिनेटमा मनाङका विदेशी खेलाडी अफिज ओलावाले एकल प्रयासमा चुके।  ओलावालेको बललाई आर्मीका गोलकिपर बिकेश कुथुले विफल पार्दा दोब्बर बनाउने मनाङको सुनौलो अवसर गुमेको थियो।

पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफको अन्तिम मिनेट सम्म जोगाउन मनाङले निकै संघर्ष गर्नु पर्यो। खेलमा फर्किने प्रयासका लागि एक पछि अर्को काउन्टरमा रहेको आर्मीका कप्तान भरत खवासले ४७औं मिनेटमा हेड मार्फत नवयुगलाई पास दिए पनि उनको त्यो प्रयास निकै नै फितलो बनेको थियो। नवयुगको त्यो प्रयासलाई मनाङका गोलकिपर विशालले सहजै नियन्त्रणमा लिएका थिए।

५३औं मिनेटमा जर्ज प्रिन्स काकीले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको सशक्त बल माथिल्लो बार नजिकैबाट बाहिरिँदा आर्मी चुकचुकाउनु परेको थियो। रक्षात्मक बन्दै काउन्टरमा पनि जोड दिएको मनाङका लागि ६०औं मिनेटमा कमल श्रेष्ठले दिएको क्रस बलमा एडिलाजाल चुके। एडिलाजाले नियन्त्रण गर्दै प्रयास गरेको उक्त बललाई आर्मीका गोलकिपर बिकेशले उत्कृष्ट बचाउ गरेका थिए।

७६औं मिनेटमा भिक्टर कामुकाले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको अर्को प्रयास पोलमा लागेर फर्किदा मनाङको दोब्बर आशा निराशामा परिणत भएको थियो। बाँकी समयमा आर्मी गोल फर्काउन संघर्ष गरे पनि बलियो मनाङको रक्षापंत्तिलाई चिर्न सकेन र लिगमा पहिलो पराजय भोग्न बाध्य बन्यो। रणनीति अनुसार सबै खेलाडीले राम्रो प्रदर्शन गरेको मनाङका प्रशिक्षक सुमन श्रेष्ठले बताए।

‘नयाँ विदेशी खेलाडीको राम्रो प्रदर्शन भयो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘जितका लागि हामी मैदान उत्रिएका थियौं, कठिन प्रतिद्वन्द्वी भएकाले सबै खेलाडीले मेहनतका साथ खेले र नतिजा हात पर्यो।’ यस्तै प्रशिक्षक श्रेष्ठले खेलअवधिमा रेफ्रिले लिएको निर्णयमा असन्तुष्टि जनाए।

‘मनाङले अग्रता लिएको खेलमा सधै अस्वभाविक समय थप गरिँदै आइएको छ, हाम्रो अफिसियलले पनि समयको ख्याल गरेका छौं तर सधै धेरै समय थपिन्छ। यो खेलमात्र होइन यस अघिका खेलमा पनि यस्तै गरिएको थियो,’ प्रशिक्षक श्रेष्ठले थपे, ‘रेफ्रिहरुले सिनियर खेलाडीले आह्वान गरेको भरमा निर्णय लिएको देखिन्छ। अलिकति रेफ्रि आफै आफ्नो निर्णयमा परिपक्क हुन जरुरी छ।’

उता पराजित टोलीका प्रशिक्षक नविन न्यौपानले खेलाडीको दोहोरो पहेलो कार्ड र इन्जुरीले खेलमा राम्रो नतिजा निकाल्न नसेको बताए।

‘दाबेदारीको रुपमा प्रस्तुत हुन हामी जित्ने पर्ने लक्ष्यका साथ मैदान उत्रिएका थियौं, मनाङले पाएको अवसरलाई सदुपयोग गर्न सफल भयो तर हामीले राम्रो खेल्दै अवसर सिर्जना गरे पनि अवसरलाई सदुपयोग गर्न सकेनौं,’ प्रशिक्षक न्यौपानेले भने, ‘उपाधि लक्ष्य अझै जारी छ, यद्यपि अरुको खेलमा निर्भर पर्नु पर्नेछ। र आउँदा खेलमा स्पष्ट निकाल्न उत्तिकै आवश्यक पनि छ।’

लिगमा शनिबार दुई खेल हुनेछन्। हलचोक स्थित एपिएफको मैदानमा हुने पहिलो खेलमा नव प्रवेशी च्यासल युथ क्लबले ब्रिगेड ब्वाइजको सामना गर्दा दोस्रो खेलमा थ्री स्टारले मछिन्द्रको सामना गर्नेछ।

प्रकाशित: २८ मंसिर २०७५ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App