खेल

राेमाञ्चक खेलमा भैरहवाद्वारा विराटनगर पराजित

काठमाडाैं - काडमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा जित निकाल्दै भैरहवा ग्लाडियटर्सले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। जितसँगै भैरहवाले अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो समेत बनाएको छ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा भैरहवाले लगातार तेस्रो जित निकाल्ने क्रममा पारस खड्का नेतृत्वको विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गरेको हो। विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य भैरहवाले १९ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। सामान्य लक्ष्य पछ्याउन समेत भैरहवालाई कठिन भएको थियो। भैरहवाका लागि रेन टेन डोस्केटले सर्वाधिक २० रन बनाए। यस्तै कप्तान शरद भेष्वाकरले १६ तथा अघिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका रवी इन्दर सिंहले १२ रन मात्रै जोड्न सके। बलिङ तर्फ विराटनगरका रोइलफ भान डर मार्वीले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८ दशमलव ४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९१ रन जोडेको थियो। विराटनगरका मार्वीले २५ रन बनाउनु वाहेक कसैले सम्झलाएक प्रदर्शन गर्न सकेनन्। अघिल्ला खेलहरुमा जस्तै बुधबारको खेलमा समेत कप्तान पारस चल्न सकेनन्। विराटनगरलाई सस्तैमा समेट्ने क्रममा भैरहवाका मोहम्मद नाविदले सर्वाधिक ४ विकेट लिए। यस्तै कृष्ण कार्की तथा अविनाश बोहराले समान २/२ विकेट लिए। जितसँगै भैरहवा ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ।

 

प्रकाशित: २६ मंसिर २०७५ ०७:३८ बुधबार

एभरेष्ट_प्रिमियर_लिग भैरहवा_ग्लाडियटर्स विराटनगर_वारियर्स