खेल

मनाङ र अार्मीकाे अपराजित यात्रा कायमै

सोमबार मछिन्द्र क्लबविरुद्ध गोल गरेपछि मनाङ मस्याङ्दीका विदेशी खेलाडी अफिज ओवावाले । तस्बिर सौजन्य : एन्फा

काठमाडाैं - विदेशी खेलाडी अफिज ओलावालेको निर्णायक गोलको मद्दतमा सोमबार मनाङ मर्स्याङ्दी क्लबले मच्छिन्द्र क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको दोस्रो खेलमा साबिकको विजेता मनाङलाई जित दिलाउन दोस्रो वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका ओलावालेले खेल सकिन पाँच मिनेट अगाडि गोल गरेका हुन्। उनको निर्णायक गोलसँगै मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा शतप्रतिशत नतिजा यात्रालाई सातौं खेलसम्म पनि निरन्तरता दिएको छ।

सोमबार मच्छिन्द्र क्लबमाथि संघर्षपूर्ण जित निकालेको मनाङ थ्री स्टार र संकटा क्लबलाई स्पष्ट तीन अंकले पछि पार्दै अंकतालिकाको शीर्ष स्थानमा यथावत् छ। लिगका सबै ७ खेलबाट मनाङले २१ अंक जोड्दा समान १८ अंकका साथ थ्री स्टार र संकटा दोस्रो तथा तेस्रो स्थानमा छन्। पराजित मच्छिन्द्र पुछारबाट ३ अंकका साथ दोस्रो स्थानमा छ। अहिलेसम्म विजयी हुन नसकेको मच्छिन्द्रले सातमध्ये ४ खेलमा हार भोग्दा ३ खेलमा बराबरी नतिजा निकालेको छ।

५९आैं मिनेटमा डोना थापाको स्थानमा मैदान प्रवेश गरेका ओलावालेले मच्छिन्द्रका दुई रक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका थिए। सुरुआतबाट नै निरन्तर काउन्टरमा रहेको मनाङले गोलका केही अवसर पाए पनि उपयोग गर्न सकेन। दोस्रो हाफको सुरुमै पाएको पनोल्टीमा मनाङका स्ट्राइकर अञ्जन विष्टको प्रहार मच्छिन्द्रका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गर्दै निराश पारिदिएका थिए। मनाङका सोमिदलाई मच्छिन्द्रका विदेशी खेलाडी सहिडले पेनाल्टी बक्सभित्र खराब फाउल गरेपछि रेफ्रीले मनाङका लागि पेनाल्टीको अवसर दिएका थिए।

५९ आैं मिनेटमा डोना थापाको स्थानमा मैदान प्रवेश गरेका अफिज ओलावालेले मच्छिन्द्रका दुई रक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका थिए।

खेलमा मनाङका स्ट्राइकर अञ्जनले केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। आठौं मिनेटमै वान भर्सेज वानमा अञ्जनको प्रहार मच्छिन्द्रका गोलकिपर दीपले अगाडि बढ्दै बचाएका थिए। ३७औं मिनेटमा अञ्जनको कडा प्रहार जोगाएका दीप मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा पनि अञ्जनका लागि बाधक बनेका थिए। बलियो प्रतिद्वन्द्वी मानिएको मनाङका अकार्षक बललाई निस्तेज पारेका मच्छिन्द्रका गोलकिपर दीप कार्की म्यान अफ दी म्याच घोषित भए।

खेलको सुरुआतबाटै रक्षात्मक बन्दै अंक खोस्ने दाउमा रहेको मच्छिन्द्रले अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा अंक गुमाउन पुगेको हो। खेलमा केही सुन्दर मौका सिर्जना गरे पनि मच्छिन्द्र गोल गर्न चुकेको थियो। गोलका लागि अगाडि बढाउँदै गरेको बल अञ्जनको हातमा लाग्दा पाएको फ्रिकिकमा मच्छिन्द्र चुक्यो। अन्तिम मिनेटतिर एक गोलले परेको मच्छिन्द्रले गोल फर्काउने प्रयास गरे पनि मनाङको रक्षापंक्तिलाई चिर्न सकेन।

यस्तै लिगअन्तर्गत सोमबारै सम्पन्न दिनको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पनि ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले पराजित गर्दै अपराजित यात्रालाई निरन्तरता दिएको छ। उपाधि होडमा रहेको त्रिभुवन आर्मीलाई जित दिलाउन टंक बस्नेतले खेलको ६६औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो।

पहिलो हाफबाट नै आक्रामक देखिएको आर्मीले केही अवसर पाए पनि सदुपयोग गर्न असफल भएको थियो। पेनाल्टी बक्सको दायाँ भागबाट टेकबहादुर बुढाथोकीले दिएको क्रस पासलाई टंकले हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। बाँकी समयमा आर्मीले केही अवसर सिर्जना गरे पनि गोल गर्न भने असफल भयो। मुख्य स्ट्राइकर नवयुग श्रेष्ठबिना नै मैदान उत्रिएको आर्मीले सातौं चरणसम्म आइपुग्दा ५ खेलमा जित र २ खेलमा बराबरी नतिजा निकालेको छ। मैदानबाहिर रहेका नवयुग हिल इन्जुरीका कारण केही हप्तादेखि आराम गरिरहेका छन्।

सोमबारको जितपछि आर्मी १७ अंकका साथ चौथो स्थानमा यथावत् रहँदा ब्रिगेड ब्वाइज ४ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ। सोमबारको खेलसँगै लिगमा सातौं चरणका खेल सम्पन्न भएका छन्। मनाङले शीर्षता कायम राख्दा थ्री स्टार दोस्रो र संकटा तेस्रो स्थानमा छन्।

प्रकाशित: २४ मंसिर २०७५ १३:१६ सोमबार

शहिद_स्मारक_ए_डिभिजन_लिग मनाङ_मर्स्याङ्दी त्रिभुवन_अार्मी