खेल

नेपाल कठिन समूहमा

काठमाडौं - थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ।एसियाली फुटबल महासङ्घ (एएफसी) ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो। नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन्। छनौट चरण आगामी मार्च २२ देखि २६ तारिखसम्म कतारमा हुनेछ। अघिल्लो संस्करणको छनौट चरणको खेलमा नेपाली यु–२३ टोली छनौट चरणबाटै बाहिरिएको थियो।

छनौट चरणको खेलमा ४४ राष्ट्रले सहभागिता जनाउँदैछन्। सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ। सो प्रतियोगिताबाट आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनौट हुनेछन्। उक्त च्याम्पियनसिप आगामी सन् २०२० जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा हुनेछ। 

प्रकाशित: २१ कार्तिक २०७५ १५:२७ बुधबार

एएफसी_यु–२३ फुटबल