खेल

पिपिएलको विजेताले २७ लाख पाउने

काठमाडौं–  पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले २७ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।

क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेता टोलीलाई २७ लाख रुपैयाँ दिने निर्णय भएको क्विन्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए।

प्रतियोगिताका उपविजेता टोलीले १० लाख रुपैयाँ पाउनेछन् भने ‘म्यान अफ द सिरिज’, उत्कृष्ट ‘ब्याट्सम्यान’ र उत्कृष्ट ‘बलर’ले एक एक थान सुजुकी जिक्सर १५५ सिसीको मोटरसाइकल पाउने भएका छन्। प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीले १० हजार रुपैयाँ र प्रायोजकहरुबाट पाँच हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । त्यस्तै पिपिएलको प्रत्येक खेलको विजेता टोलीले १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा पोखरा पल्टन, विराटनगर टाइटन्स, काठमाडौँ रोयल्स, चितवन राइनोज, बुटवल ब्लास्टर र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  रासस   

प्रकाशित: ७ कार्तिक २०७५ १२:५८ बुधबार

पोखरा_प्रिमियर_लिग पिपिएल विजेता