खेल

चार मिनेटमा २ गोल, एभर्टनले क्रिष्टल प्यालेसलाई हरायो

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा एभर्टनले दुवै गोल ४ मिनेटको अन्तरमा गरेको थियो।

८६ मिनेटसम्म बराबरीमा सकिएको खेलमा एभर्टनले नाटकिय रुपमा त्यसपछि दुई गोल गर्यो। एभर्टनका लागि ८७ औं मिनेटमा सब्सीच्युट खेलाडी डोमिनिक कल्भर्ट लेविनले गोल गरेका थिए। उनी ८२ औं मिनेटमा आन्द्रे गोमेजको स्थानमा मैदान प्रवेश गरेका हुन। ८९ औं मिनेटमा सेन्क टोसुनले गोल गरेपछि एभर्टनले जारी सिजनको प्रिमियर लिगमा लगातार तेस्रो जित हात पार्यो।

त्यसअघि खेलको ६० औं मिनेटमा क्रिस्टलले पेनाल्टीमा गोल गर्ने मौका गुमाएको थियो। क्रिस्टलका लुका मिलिजोभिचका पेनाल्टी एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले बचाएका थिए। क्रिष्टल प्यालेस भने पछिल्ला चार खेलदेखि जितविहीन छ।

जितपछि एभर्टन ९ खेलबाट १५ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ। प्यालेस ७ अंकका साथ १५ औं स्थानमा छ। लिग लिडर म्यानचेस्टर सिटीको २३ अंक छ।

प्रकाशित: ५ कार्तिक २०७५ ०३:१२ सोमबार

प्रिमियर_लिग फुटबल एभर्टन