खेल

साफ यु–१८ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं – भुटानमा जारी यु–१८ साफ महिला च्याम्पियनसिप फुटबलमा मंगलबार (आज) नेपालले बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बेलुकी ६ः४५ बाट चाङ्लिमिथाङ्ग रंगशालामा सुरु हुनेछ।

दुवै टोली यसअघिनै सेमिफाइनलमा पुगिसकेकाले आजको खेल समूह विजेताका लागि हुनेछ। दुवै टोलीले पहिलो खेलमा पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।

नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पाराजित गर्दा बंगालदेशले पनि पाकिस्तानमाथि १७–० को फराकिलो जित दर्ता गरेको थियो। गोलअन्तरका आधारमा बंगलादेश नेपालभन्दा अगाडि रहेको छ।

पाकिस्तान भने दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ। प्रतियोगिताको अर्को समूहमा भुटान, माल्दिभ्स र भारत रहेका छन्। 

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन्। हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकाश वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन्। 

प्रकाशित: १६ आश्विन २०७५ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App