खेल

नेपालको पहिलो प्रतिद्वन्द्वी पाकिस्तान

काठमाडौं – भुटानमा शुक्रबारबाट आयोजना हुने साफ यु–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले  पाकिस्तानसँग खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (एएफसी)ले मंगलबार जारी गरेको तालिकामा नेपालले भुटानमा हुने प्रतियोगितामा पहिलो प्रतिद्वन्द्वी पाकिस्तान पाएको हो। 

प्रतियोगितामा आयोजक भुटानसहित दक्षिण एसियाका ६ राष्ट्रले  सहभागिता जनाउँदै छन् भने श्रीलंकाको सहभागिता छैन । यसअघि श्रीलंकालाई समेत समावेश गर्दै तालिका सार्वजनिक गरिएको थियो । तर पछि श्रीलंकाले सहभागिता नजनाउने भएपछि ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको हो।

समूह ‘ए’ भारत, माल्दिभ्ससहित आयोजक भुटान छन् भने समूह ‘बी’ मा नेपालसहित बंगलादेश र पाकिस्तान छन् । नेपालले पहिलो खेल शुक्रबार पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल असोज १६ गते बंगलादेशविरुद्ध खेल्नेछ। 

६ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिता असोज २१ सम्म सञ्चालन हुनेछ। 

 

प्रकाशित: १० आश्विन २०७५ ०५:१६ बुधबार

साफ_यु–१८_महिला_च्याम्पियनसिप भुटान एएफसी