खेल

एन्फा ग्रासरुट ट्रेनिङ सुरु

ग्रासरुट ट्रेनिङका लागि जिल्ला फुटबल संघलाई शनिबार बल हस्तान्तरण गर्दै एन्फा केन्द्रीय सदस्य निरोज खड्गी (सबैभन्दा दायाँ) ।    तस्बिर: नागरिक

इलाम – नयाँ फुटबल खेलाडी उत्पादनका लागि इलाममा ‘ग्रासरुट ट्रेनिङ’ थालिएको छ। सदरमुकामसहित जिल्लाका विभिन्न स्थानीय तहमा ५ देखि १२ वर्षका बालबालिकालाई फुटबल सीप सिकाउन थालिएको हो। 

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र जिल्ला फुटबल संघको समन्वयमा सदरमुकामका १ सय ४० बालकलाई फुटबल सीपको तालिम दिइँदैछ। उनीहरूलाई प्रत्येक शुक्रबार २ बजेपछि र शनिबार ९ बजेदेखि तालिम दिने तयारी भएको संघले जनाएको छ। ‘जिल्लाका विभिन्न सरकारी तथा निजी विद्यालयका १ सय ६० बालबालिकालाई हामी यो तालिम दिनेछौं,’ संघ अध्यक्ष महेश श्रेष्ठले भने, ‘जिल्लामा खेलाडी उत्पादन गर्न तालिमले महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ।’

देउमाई र सूर्याेदय नगरपालिकासहित रोङ गाउँपालिकामा पनि ग्रासरुट तालिम सञ्चालन गर्ने तयारी भएको छ। ती नगर र गाउँपालिकाले ग्रासरुट तालिमका लागि बजेट छुट्याइसकेको संघले जनाएको छ। एन्फाले देशका ६ हजार बालबालिकालाई ग्रासरुट तालिम दिन लागेको एन्फा केन्द्रीय सदस्य निरोज खड्गीले बताए। देशका ४५ जिल्लामा शनिबारदेखि एकै प्रकारको तालिम दिइँदै गरेको उनको भनाइ छ। ‘सुरुमा बालबालिकालाई फुटबलको सीप सिकाउँछौं, त्यसपछि लिग खेल खेलाउँछौं पनि,’ उनले भने, ‘यो वर्षभर प्रत्येक शुक्रबार र शनिबार तालिम चल्छ।’ एन्फाले देशका ३५ खेलमैदानलाई ग्रासरुट तालिमकै लागि तयारी गर्न ५–५ लाख रुपैयाँ दिएको उनले जनाए। 

इलामसहित १० जिल्लालाई खेलमैदान निर्माण र मर्मतका लागि एन्फाले यो वर्ष १०–१० लाख रुपैयाँ दिएको थियो। तर, इलामको ठूलो टुँडिखेल चाहिँ नेपाली सेनाको नाममा रहेकाले एन्फाले पठाएको रकम करफोक खेलमैदानलाई गएको उनले बताए। ग्रासरुट तालिममा इलामका एन्फा प्रशिक्षक दर्शन भक्तराजसहित अगुवा खेलाडीले प्रशिक्षण दिनेछन्। तालिमका लागि एन्फाले शनिबार संघलाई केही बल हस्तान्तरण पनि गरेको छ। ‘यो तालिमले जिल्लामा २५ देखि ३० जनासम्म राम्रा खेलाडी उत्पादन गर्ने र फुटबल एकाडेमी सञ्चालन गर्ने लक्ष्य छ,’ संघ अध्यक्ष श्रेष्ठले भने, ‘इलाममा ग्रासरुट ट्रेनिङ आयोजना गर्नु जिल्लाको फुटबल खेल विकासका लागि राम्रो अवसर हो।’

प्रकाशित: ३० भाद्र २०७५ ११:०४ शनिबार

एन्फा इलाम ग्रासरुट_ट्रेनिङ