खेल

गोललाइन प्रविधिमा टोटेनह्यामलाई सफलता

लन्डन – गोललाइन प्रविधिको सहयोगमा टोटेनह्यामले शनिबार न्युक्यासल युनाइटेडमाथि २–१ को नतिजा निकाल्दै प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ।

माउरिसियो पोचेट्टिनोको टोटेनह्यामले सरुवा बजारमा कुनै खेलाडी अनुबन्धित गर्न नसकेपछि उत्तरी लन्डन क्लबका समर्थक निराश बनेका थिए । तर, सेन्ट जेम्स पार्कमा जोन भेर्टोनघन र डेले अलीको गोलमा टोटेनह्यामले विजयी नतिजा निकाल्दै समर्थकलाई खुसी बनाएको थियो।

‘विजयी सुरुआत गर्नु महत्वपूर्ण छ । यसले सकरात्मक सन्देश प्रवाह गरेको छ,’ टोटेनह्यामका प्रशिक्षक पोचेट्टिनोले भने, ‘खेलाडी र अन्य अधिकारी एक ठाउँमा उभिनुपर्छ । हामी नयाँ रंगशालामा सरेका छौं त्यसैले समर्थकका लागि यो कठिन समय हो । खेलाडीको प्रदर्शनबाट मलाई गर्व लागेको छ । न्युक्यासल धेरै राम्रो टोली हो । उनीहरूले गोलका धेरै अवसर सिर्जना गरेका थिए । तर फुटबलमा कहिलेकाहीं मिहिनेतका साथै भाग्यको पनि साथ चाहिन्छ।’

जोन भेर्टोनघनले सुरुमै हेडमार्फत टोलीलाई अग्रता दिएका थिए । ड्याभिनसन सान्चेजको पासमा भेर्टोनघनले गरेको हेड क्रसबारमा लागेर तल झरेको बललाई न्युक्यासलका गोलकिपर मार्टिन दुब्राभकाले क्लियर गरेका थिए । तर, गोललाइन प्रविधिबाट त्यसलाई गोल दिइएको थियो । भ्रमणकारी टोलीको अग्रता लामो सयम टिक्न सकेन। 

१ सय ४९ सेकेन्ड नबित्दै घरेलु टोलीका जेसेलुले बराबरी गोल फर्काएका थिए । म्याट रिचीको उत्कृष्ट क्रसलाई पेनाल्टी क्षेत्रमा कसैको निगरानीमा नरहेका जोसेलुले हेडमार्फत गोल गरेका थिए । १८औं मिनेटमा डेले अलीले गरेको गोल टोटेनह्यामको जितमा निर्णायक बन्यो।

टोटेनह्यामका प्रशिक्षक पोचेट्टिनोले विश्वकपको बिदाबाट फर्किएका ह्यारी केन र अलीलाई पहिलो रोजाइमा खेलाएका थिए । त्यस्तै न्युक्यासलका प्रशिक्षक राफायल बेनिटेजले नयाँ अनुबन्धित कि सुङ योङ, फावियन स्चर, सालोमन रोन्डोन र योसिनोरी मुटोलाई वैकल्पिक खेलाडीका रूपमा डेब्यू गराएका थिए।

 

प्रकाशित: २७ श्रावण २०७५ ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App