खेल

रोनाल्डोको आगमनले दबाबमुक्त : बोनुची

टुरिन – युभेन्ट्सका रक्षक लियानार्डो बोनुचीले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको आगमनपछि च्याम्पियन्स लिगका आगामी सिजनहरूमा रियाल मड्रिडको सामना गर्दा आफ्नो टोली पहिलेको जस्तो दबाबमा नरहने बताएका छन्।

बोनुचीले रियाललाई यसअघि रोनाल्डोको उपस्थिति सधैं फाइदाजनक र हुने भए पनि उनको टुरिन आगमनपछि भने आफूहरूमाथिबाट उक्त दबाब हट्ने विश्वास व्यक्ति गरे । रोनाल्डो यसै सिजन युभेन्ट्स भित्रिएका थिए।

युभेन्ट्सको च्याम्पियन्स लिग उपाधि सपना अधुरो पार्ने क्रममा रोनाल्डोले सात पटकको भेटमा रियालका तर्फबाट सिरी ‘ए’ च्याम्पियनविरुद्ध १० गोल गरेका थिए । रियाललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताउने क्रममा रोनाल्डोले महत्वपूर्ण भूमिका खेलेका थिए।

‘रोनाल्डोको युभेन्ट्स आगमपछि हामी च्याम्पियन्स लिगमा रियालको सामना गर्दा पहिलेजस्तो दबाबमा हुँदैनाैं,’ गत साता मात्र एसी मिलानबाट युभेन्ट्स फर्किएका बोनुचीले भने, ‘यसअघि रोनाल्डोको उपस्थितिमा रियाल मड्रिडविरुद्ध उत्रँदा हामी सुरुआतबाटै १–० ले पछि छाैं भन्ने भान हुन्थ्यो।’

‘यसअघि रोनाल्डोको उपस्थितिमा रियाल मड्रिडविरुद्ध उत्रँदा हामी सुरुआतबाटै १–० ले पछि छाैं भन्ने भान हुन्थ्यो।’

१९९६ पछि पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा रहेको युभेन्ट्सको लक्ष्यमा पछिल्लो दुवै सिजन रोनाल्डो बाधक बनेका थिए । गत सिजन रियालले युभेन्ट्सको च्याम्पिन्यस लिग यात्रा क्वार्टरफाइनलमा टुंग्याएको थियो ।  पहिलो लेगमा ३–० ले अग्रता लिएको रियालविरुद्ध युभेन्ट्सले दोस्रो लेगमा ३ गोल फर्काएको थियो।रोनाल्डोले पेनाल्टीमा गरेको विवादास्पद गोलमा युभेन्ट्स ४–३ ले निराश भएको थियो । त्यसअघिको सिजनमा फाइनलमा रियालले युभेन्ट्सलाई ४–१ ले स्तब्ध पारेको थियो। युभेन्ट्सले पछिल्लो ४ सिजनमा दुई पटक च्याम्पियन्स लिगको फाइनल यात्रा पक्का गरे पनि उपाधि भने चुम्न सकेको छैन।

‘रोनाल्डोको आगमनले क्लब नयाँ उचाइमा पुग्नेमा हामी विश्वस्त छौं,’बोनुचीले भने, ‘उनको टुरिन आगमनको एउटै उद्देश्य भनेको क्लबले एकै सिजन इटालियन सिरी ए, इटालियन लिग कप र च्याम्पियन्स लिग गरी तेहेरो उपाधि जित्नु नै हो । जुन क्लबको पहिलेदेखिको लक्ष्य हो।’

युभेन्ट्सबाट ६ पटक सिरी ‘ए’ को उपाधि जितेका बोनुची क्लबले दुवै पटक च्याम्पियन्स लिग फाइनलमा नतिजा सुम्पिँदा टोली सदस्य थिए। बोनुचीले गत सिजन प्रशिक्षक मासिमिलियानो एलेग्रीसँगको चिसो सम्बन्धका कारण युभेन्ट्स छोड्नु आफ्नो जीवकै ठूलो भूल भएको बताए।

‘आवेगमा गरिएको निर्णय कहिले फलदायी हुँदेैन,’ बोनुचीले भने, ‘मैले एलेग्रीसँग रिसाउँदै क्लब छोडेको थिएँ । तर अब मैले त्यो निर्णय गलत भएको महसुस गर्दै सच्याउन क्लब फर्किएको हुँ । अहिले हाम्रो सम्बन्ध राम्रो छ।’

प्रकाशित: २७ श्रावण २०७५ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App