केप टाउन – दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसले आफू चोटका कारण लामो समय मैदानबाहिर बस्न सक्ने संकेत गरेका छन्।
एक वर्षको अन्तरालमा तेस्रो पटक चोटका कारण मैदानबाहिर बस्न परेको भन्दै डु प्लेसिसले तत्काल मैदान फर्कने कुनै सम्भावना नभएको बताएका हुन्।
श्रीलंकाविरुद्धको चौथो एकदिवसीय खेल खेल्दा फिल्डिङका क्रममा कुममा चोट लागेपछि उनी केही दिनअघि दक्षिण अफ्रिका फर्किएका थिए । २ टेस्टको शृखला २–० ले गुमाएको दक्षिण अफ्रिका पाँच एकदिवसीय खेलको शृंखलामा ३–१ ले अघि रहेको छ।
डु प्लेसिसले चोट गम्भीर नभए पनि सेम्टेम्बर ३० बाट जिम्बाब्वेविरुद्ध हुने एकदिवसीय शृंखलामा भने आफू टोलीमा नरहने स्पष्ट पारे । उनले २०१९ को इङ्ल्यान्ड विश्वकपअघि पूर्ण रूपमा फिट हुनका लागि पनि लामो आरामको आवश्यक भएकाले तत्काल मैदान नफर्कने बताएका हुन्।
‘पर्याप्त आरामबिनै मैदान फर्कंदा चोट बल्झने सम्भावना पनि उत्तिकै हुन्छ । जुन मैले बारम्बार भोग्दै आएको छु।’
‘श्रीलंका भ्रमणमा मेरो कुममा लागेको चोट त्यति गम्भीर छैन,’ ३४ वर्षे डु प्लेसिसले भने, ‘भाग्यवश अबको सात साता दक्षिण अफ्रिकाले कुनै पनि शृंखला खेल्ने छैन । त्यसैले म यो अवधि र त्यसपछि पनि पर्याप्त आराम गर्दै अर्काे वर्ष इङ्ल्यान्डमा आयोजना हुने विश्वकपअघि आफू पूर्ण रूपमा फिट भएको हेर्न चाहन्छु।’
‘जिम्बाब्वेविरुद्ध खेल्न मलाई कुनै कठिनाइ छैन,’ उनले भने, ‘तर पर्याप्त आरामबिनै मैदान फर्कंदा चोट बल्झने सम्भावना पनि उत्तिकै हुन्छ । जुन मैले बारम्बार भोग्दै आएको छु । विगत एक वर्षको अन्तरालमा म चोटका कारण मैदानबाहिर बसेको यो तेस्रो पटक हो ।’ डु प्लेसिसले गत वर्ष पनि कुमको शल्यक्रिया गराएका थिए। उनले पूर्ण रूपमा फिट नभए पनि भारतविरुद्ध जनवरीमा भएको टेस्टमा फर्कने निर्णय हतारमा गरिएकोमा पछुतो भएको बताए।
‘भारतविरुद्धको शृंखला सधैं महत्वपूर्ण हुने गर्दछ,’ उनले भने, ’तर टेस्ट शृंखला सुखद बने पनि एकदिवसीय शृंखलामा म पुनः आंैलाको चोटका कारण टोलीबाहिर बस्न बाध्य भएँ।’ डु प्लेसिसले श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा टोली निरीह देखिए पनि एकदिवसीय शृंखलामा भने टोलीले उत्कृष्ट पुनरागमन गरेको भन्दै टोलीको प्रशंसा गरे।
‘टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ,’ डु प्लेसिसले भने, ‘यो लयले आगामी शृंखलाहरूमा पनि निरन्तरता पाउनेमा म आशावादी छु।’
प्रकाशित: २७ श्रावण २०७५ ०३:५३ आइतबार