खेल

फिफाद्वारा वर्षका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक, को को परे ?

जुरिच – फिफाले वर्षका उत्कृष्ट १० पुरुष खेलाडीको सूचि सार्वजनिक गरेको छ। मंगलबार स्विट्जरल्याण्डको जुरिचमा सार्वजनिक गरिएको सूचिमा ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेइमार भने अटाउन सकेनन्।

२६ वर्षीय नेइमारले विश्वकप फुटबलमा सोचे अनुसारको खेल प्रदर्शन गर्न नसक्दा ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। गएको सिजन छोटो समयमै पिएसजीका लागि नेइमारले २८ गोल गरेका थिए।

उत्कृष्ट १० मा विश्वकप विजेता राष्ट्र फ्रान्सबाट ३ खेलाडी परेका छन्। फ्रान्सबाट एन्टोनियो ग्रिजम्यान, राफयल भराने र किलियन एमबाप्पे परेका हुन्। ग्रिजम्यान र भराने स्पेनीस क्लब एथ्लेटिको मड्रिड र एमबाप्पे फ्रान्सेली क्लब पिएसजीबाट व्यवसायिक फुटबल खेल्छन्।

तीनै जना खेलाडीले गएको हप्ता सम्पन्न रसिया विश्वकपमा आफ्नो राष्ट्रलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। अझ एमबाप्पेले त उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारेका थिए। त्यस्तै विश्वकप उपविजेता राष्ट्र क्रोएसियाका गोल्डेन बल विजेता लुका मोड्रिच पनि सूचिमा परेका छन्। मोड्रिचले क्रोएसियालाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए। मोड्रिच स्पेनीस क्लब रियल मड्रिडका भरपर्दा मिडफिल्डर हुन्।

यस्तै विश्वकप फुटबल २०१८ को तेस्रो स्थान कब्जा गर्न सफल राष्ट्र बेल्जियमका इडेन हाजार्ड र केभिन डि ब्रुयना पनि १० जनाको सूचिमा समेटिए। दुवै खेलाडीले बेल्जियमलाई तेस्रो स्थान दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। हाजार्ड इङ्लिस क्लब चेल्सीका स्ट्राइकर र ब्रुयना म्यानचेष्टर सिटीका प्लेमेकर हुन्।

यता विश्वकपमा चौंथो भएको इङ्ल्याण्डका स्ट्राइकर ह्यारी केन पनि सूचिमा परेका छन्। केनले यो विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट हात पारेका थिए। गएको सिजन सबै प्रतियोगितामा गरेर टोटेनह्यामका लागि केनले ४० गोल गरेका थिए।

त्यस्तै पाँच पाँच पटकका फिफा वर्ष खेलाडी पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोलन मेस्सीपनि सूचिमा पर्न सफल भएका छन्। पोर्चुगल र अर्जेन्टिना विश्वकपको क्वार्टफाइनलबाटै बाहिरिएपनि उनीहरू उत्कृष्ट १० मा पर्न सफल भएका हुन्। रोनाल्डोले प्रतियोगितामा ४ गोल गर्दा मेस्सीले १ गोल मात्र गर्न सकेका थिए। मेस्सी स्पेनीस ला लिगाको साविक विजेता टोली बार्सिलोनाका स्ट्रार स्ट्राइकर हुन। गएको सिजन मेस्सीले ४५ र रोनाल्डोले ४४ गोल गरेका थिए। रोनाल्डो भने भर्खरै मात्र रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका छन्। उनी रियलका सर्वाधिक गोलकर्ता पनि हुन्।

इजिप्टका मोहम्मद सलाहले पनि अन्तिम १० मा आफ्नो नाम अटाउन सफल भएका छन्। पहिलो सिजनमै सलाहले लिभरपुलका लागि ४४ गोल गरेका थिए। लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन ठूलो भूमिका निर्वाह गरेका सलाह रियल मड्रिडसँगको फाइनलमा भने घाइते हुँदै बाहिरिएका थिए। त्यसपछि उनी विश्वकपको पहिलो खेलमा पनि खेलेका थिएन्। उनको राष्ट्र समूह चरणबाटै बाहिरिएको थियो।

यो अवार्ड नयाँ प्रारुपमा सन् २०१६ देखि दिन थालिएको हो। २०१६ र २०१७ मा यो अवार्ड क्रिष्टियानो रोनाल्डोले हात पारेका थिए। यो अर्वाडका लागि प्रशिक्षक, प्रशंसक तथा सञ्चारकर्मीले भोट गर्नेछन्। तीन जनाको अन्तिम सूची आउँदो सेप्टेम्बरमा सार्वजनिक हुनेछ।

उत्कृष्ट १० मा पर्न सफल खेलाडीको नामावली
क्रिष्टियानो रोनाल्डो : पोर्चुगल, युभेन्टस
केभिन डि ब्रुइन : बेल्जियम, म्यानचेस्टर सिटी
एन्टोइन ग्रिजम्यान : फ्रान्स, एथ्लेटिको मड्रिड
इडेन हाजार्ड : बेल्जियम, चेल्सी
ह्यारी केन : इङ्ल्याण्ड, टोटेनह्याम
केलियन एमबाप्पे : फ्रान्स, पिएसजी
लियोनल मेस्सी : अर्जेन्टिना, बार्सिलोना
लुका मोड्रिच : क्रोएसिया, रियल मड्रिड
मोहम्मद सलाह : इजिप्ट, लिभरपुल
राफायल भाराने : फ्रान्स, रियल मड्रिड

प्रकाशित: ९ श्रावण २०७५ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App