खेल

विश्वकप फुटबलः पहिलो हाफको खेल सकिदा इङल्याण्डको अग्रता

रूस – विश्वकप फुटबल अन्तर्गत इङल्याण्ड र स्विडेनबीचको क्वाटरफाइनल खेल जारी छ। रूसको समारा एरिना रंगशालामा चलिरहेको खेलमा पहिलो हाफ सकिएको छ। पहिलो हाफको खेल सकिदा इङल्याण्डले १–० को अग्रता लिएको छ।

खेलको ३० औं मिनेटमा ह्यारी मगुइरेले गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाएका छन्। एस्ली योङले प्रहार गरेको कर्नर बलमा मगुइरेले हेड गोल गरेका हुन्। स्विडेनविरुद्ध दबाब बनाएपनि इङल्याण्डले अन्य गोल गर्न सकेको छैन। ४४ औं मिनेटमा रहिम स्टिर्लिङ वान भर्सेस वानमा गोल गर्न चुकेपछि इङल्याण्डले अग्रता दोब्बर बनाउने मौका खेर फालेको छ।

क्वार्टरफाइनलसम्मको यात्रा पक्का गर्दा स्विडेनले इङ्ल्यान्डको तुलनामा कठिन यात्रा तय गरेको थियो। समूह ‘एफ’ मा रहेको स्विडेनले पहिलो खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गरेको थियो। दोस्रो खेलमा जर्मनीलाई इन्जुरी समयमा २–१ को नतिजा सुम्पिएसँगै स्विडेनको समूहचरणबाट माथि उठ्ने लक्ष्य धरमराएको थियो।

अन्तिम खेलमा मेक्सिकोको चुनौती ३–० ले समाप्त गर्दै अन्तत समूह विजेताका रूपमा अन्तिम १६ प्रवेश गरेको स्विडेनले स्विट्जरल्यान्डलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा इङ्ल्यान्डसँगको भेट पक्का गरेको थियो।

यता समूह जी मा रहेको इङ्ल्याण्डले पहिलो खेलमा ट्युनिसियालाई २–१ र दोस्रो खेलमा पानामालाई ६–१ ले पराजित गरेको थियो। तर तेस्रो खेलमा भने बेल्जियमसँग १–० को हार व्यहोर्दै समूह उपविजेताको रुपमा इङ्ल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको हो।

प्रि क्वाटरफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै इङ्ल्याण्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो। समूहचरणको दोस्रो खेलमा पानामालाई ६–१ ले पराजित गरेपनि इङ्ल्यान्डले अन्य खेलमा भने गोलका लागि संघर्ष गर्दै आएको छ।

हालसम्म ९ गोल गरेको इङ्ल्यान्डले त्यसमध्ये ७ गोल फ्रि–किक र पेनाल्टीमा गरेको छ। इङ्ल्यान्डका कप्तान ह्यारी केन जारी प्रतियोगितामा ६ गोलका साथ उच्च गोलकर्ताको सूचीको अग्रस्थानमा छन्। उनले पनि ६ मध्ये तीन गोल पेनाल्टीमा गरेका छन्।

इङ्ल्याण्ड १९९० को विश्वकपपछि सेमिफाइनलमा पुग्न सकेको छैन्। यी दुई टोलीबीचको विजेताले सेमिफाइनलमा क्रोएसिया र रूसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २३ असार २०७५ १४:४४ शनिबार

विश्वकप फुटबलः पहिलो हाफको खेल सकिदा इङल्याण्डको अग्रता