खेल

केभिस्टद्वारा संन्यास घोषणा

कोपेनहेगन – डेनमार्कका मिडफिल्डर विलियम केभिस्टले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

समूहचरणको पहिलो खेलमा पेरूविरुद्ध खेल्दा केभिस्टलाई फोक्सो र करङमा चोट लागेको थियो। उक्त चोटका कारण उनका दुई करङ पनि टुटेका थिए। आफ्नै देश डेनमार्क पुगेर उपचार गर्न भने पनि पछि उनी राष्ट्रिय टोलीमा फर्किएका थिए।

केभिस्टले डेनमार्कबाट ८१ खेल खेल्दै २ गोल गरेका छन्। उनले सामाजिक सन्जाल फेसबुकबाट संन्यास घोषणा गरेका हुन्। उनले भनेका छन्, ‘लामो समयसम्म साथ दिनुभएकोमा धन्यवाद।’

फुलह्याम र स्टुर्टगार्टमा खेलेका केभिस्टले कोपेनहेगनमा भने निरन्तरता दिनेछन्। रूस विश्वकपका सबै खेलमा खेल्ने इच्छा भए पनि कठिन अवस्थाका बावजुद पनि टोलीमा फर्किनु नै जित भएको केभिस्टले बताए।

केभिस्टको टोली डेनमार्क आइतबार क्रोएसियासँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अर्का मिडफिल्डर माइकल क्रोन डेहलीले यसअघि नै क्रोएसियाविरुद्धको खेल अन्तिम भन्दै राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका थिए।

डेनमार्कबाट ५९ खेल खेल्दै ६ गोल गरेका डेहली यही सिजनबाट डिपोर्टिभो ला कोरुनामा व्यावसायिक खेल खेलिरहेका छन्। यसअघि डेहलीले सेल्टा भिगो, सेभियाबाट व्यावसायिक फुटबल खेलेका थिए।

प्रकाशित: १८ असार २०७५ २१:४३ सोमबार

केभिस्टद्वारा संन्यास घोषणा