खेल

करेज्माको गोलमा पहिलो हाफमा पोर्चुगलको अग्रता

रूस – रूसमा जारी विश्वकप फुटबलमा अहिले समूह बी का पोर्चुगल र इरानको खेल जारी छ। मोर्डोभिया एरिना रंगशालामा जारी समूह चरणको तेस्रो तथा अन्तिम खेलमा पहिलो हाफ सकिदा पोर्चुगलले १–० को अग्रता लिएको छ।

पोर्चुगलका लागि रिकार्डो करेज्माले ४५ औं मिनेटमा उत्कृष्ट गोल गरेका छन्। पहिलो हाफमा इरानलाई दबाबमा राखेपनि पोर्चुगलले गोल गर्न ४५ मिनेटसम्म कुर्नु पर्यो। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पाएका केहि अवसरलाई सदुपयोग गर्न सकेका छैनन्।

यता पोर्चुगलविरुद्ध आक्रमक फुटबल खेलिरहेको इरानले गोल गर्ने अवसर सिर्जना गरेपनि पोर्चुगलका खेलाडीले त्यसलाई विफल पारिदिएका छन्। अघिल्ला दुईमध्ये एक खेलमा जित र एक खेलमा बराबरी गरेको पोर्चुगल ४ अंकका साथ दोस्रो स्थानमा छ।

पोर्चुगलले उद्घाटन खेलमा स्पेनसँग ३–३ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा मोरक्कोलाई १–० ले पराजित गरेको थियो। यता इरानले उद्घाटन खेलमा मोरक्कोलाई १–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा स्पेनसँग १–० ले हारेको थियो। यो खेलमा पोर्चुगलले बराबरी गरेपनि अघिल्लो चरणमा प्रवेश गर्नेछ भने इरानलाई जित्नैपर्ने दबाब छ।

प्रकाशित: ११ असार २०७५ १८:५३ सोमबार

करेज्माको गोलमा पहिलो हाफमा पोर्चुगलको अग्रता