खेल

गोल गर्ने खेलाडीमाथि फिफाको छानबिन

मस्को – सर्बियाविरुद्ध गोल गर्ने स्विट्जरल्यान्ड ग्रानिट जाका र जर्दान साकिरीलाई फिफा अनुशासन समितिले छानबिन गर्ने भएको छ।

शनिबार कालिनिनगार्डमा सर्बियाविरुद्ध गोल गरेपछि खुसीयाली मनाउने क्रममा राजनीतिक झल्को दिने गतिविधि गरेका कारण जाका र साकिरीमाथि अनुसन्धान गर्न लागेको फिफाले जनाएको छ।

सर्बियाका समर्थकले पनि राजनीतिक झल्को दिने गतिविधि गरेका कारण फिफाले सर्बियन फुटबल संघमाथि पनि अनुशासनविरुद्धको कारबाही अघि बढाउने जनाएको छ । सर्बियाका प्रशिक्षक एमलादेन क्रस्ताजिचको खेल सकिएपछि दिएको प्रतिक्रियाबारे पनि फिफाले समीक्षा गर्ने जनाएको छ।

स्विट्जरल्यान्डका लागि गोल गरेका जाका र साकिरीले खुसीयाली मनाउने क्रममा अल्बानियाको राष्ट्रियता झल्कने सङ्केत दिएका थिए । दुवै खेलाडीले बुढी औंलालाई खप्टाउँदै बाँकी औंला फिजाएर उडिरहेको चिलको आकार आउने संकेत प्रस्तुत गरेका थिए । जुन आकृतिमा अल्बानियाको राष्ट्रिय झन्डा प्रतिबिम्बित भएको थियो।

साकिरी कोसोभोमा जन्मिएका हुन् । जाकाका पुर्खा पनि कोसोभोकै हुन् । कोसोभो पहिले सर्बियाको एक प्रान्त हो । तर २००८ मा कोसोभोले स्वतन्त्र भएको घोषणा गरेको थियो । तथापि सर्बियाले त्यसलाई स्विकारेको छैन । दुई देशबीचको तनाव अझै कायमै छ । जाकाका पुर्खौली कासोभोका भए पनि उनीहरू अल्बानियन मूलका हुन् । जाकाका दाजु अल्बानियाको राष्ट्रिय टोलीबाट खेल्छन्।

लामो समयको द्वन्द्वपछि बालकान्सका थुप्रै परिवार स्विट्जरल्यान्डलगायत युरोपका अन्य देशमा बसाइँ सरेका थिए । स्विट्जरल्यान्ड फुटबलमा अल्बानिया मूलका थुप्रै खेलाडी छन्।

सेनेगलविरुद्धको खेलमा राजनीतिक गतिविधि झल्कने ब्यानर प्रदर्शन गरेका कारण फिफाले शनिबार पोल्यान्ड फुटबल संघलाई १० हजार स्विस फ्रांक (दश हजार एक सय अमेरिकी डलर) जरिवानासहित चेतावनी दिएको छ । फिफा अनुशासन समितिले अर्जेन्टिना र क्रोएसियाको फुटबल संघमाथि पनि समर्थकलाई नियन्त्रणमा राख्न नसकेकोमा अनुशासनको कारबाहीका लागि अनुसन्धान गर्ने जनाएको छ।

 

प्रकाशित: १० असार २०७५ १८:५६ आइतबार

गोल गर्ने खेलाडीमाथि फिफाको छानबिन