खेल

रोनाल्डोले पोर्चुगललाई विश्वकप जिताउन सक्लान ?

रुस– रसियामा जारी २१ औं संस्करणको विश्वकप २०१८ मा पोर्चुगलले औसत खेल प्रदर्शन गरिरहेको छ। पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा मोरक्कोलाई १–० गोलले हराउँदै अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ। अब पहिलो राउण्डको अन्तिम खेल सोमबार राति इरानसँग खेल्दैछ।

विश्वकपको उपाधि लक्ष्यसहित मस्को यात्रामा रहेको पोर्चुगल च्याम्पियन बन्ला त ? भन्ने प्रश्नमा अहिले चर्चा परिचर्चा भइरहेको छ। विश्लेषकहरुले भने त्यो सम्भावना न्यून देखेका छन्। पोर्चुगलका कप्तान चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो दुई खेलमा ४ गोल गर्दै उत्कृष्ट फर्ममा छन्। यसका बाबजुद पनि विश्वकपमा पोर्चुगलको आगामी यात्रा कठिन रहेको बताइन्छ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका चर्चित पूर्वखेलाडी एश्ले योङ्गले रोनाल्डोको उत्कृष्ट प्रदर्शन रहेपनि विश्व कप पोर्चुगलको अनुकुल नभएको बताएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्वकपमा सहभागी टिमबारे चर्चा गर्ने क्रममा पोर्चुगलबारे एश्लेले भनेका छन्– ‘रोनाल्डो यो टुर्नामेन्टमा शानदार फर्ममा छन्, उनी विश्वकै सर्वश्रेष्ठ खेलाडीमा एक हुन्। तर उनी आफ्नो टिमलाई उपाधिसम्म पुर्याउन सक्ने छैनन्। उनको टिम बढी रक्षात्मक खेलिरहेको छ र उनी एक्लै आफ्नो बलबुतामा वल्र्ड कप जिताउन सक्दैनन्।’

‘इंग्ल्याण्डले उपाधि जित्छ जस्तो लाग्दैन्’

इंग्ल्याण्डका प्रतिष्ठित क्लबबाट खेलिसकेका एश्लेले एक इंग्लिस प्रशंसकका रुपमा आफूलाई यसपटकको वल्र्ड कपमा आफ्नो देशको राष्ट्रिय टिमले उपाधि जित्ने सम्भावना नरहेको समेत बताएका छन्। ‘यसपटक हामीलाई टिमसँग धेरै अपेक्षा छैन्, किनकी टिममा धेरे युवा खेलाडी छन्’, उनले भनेका छन्।

टिममा युवा खेलाडीको वर्चश्व हुँदाहुँदै पनि इंग्ल्याण्डले टुर्नामेन्टमा शानदार सुरुवात गरेकोमा भने उनले खुसी व्यक्त गरे। यसले खेलाडीको आत्मविश्वास बढाएको र उपाधि जित्ने प्रयास गर्ने उनको भनाई छ। इंग्ल्याण्डले पहिलो खेलमा ट्युनिसियालाई २–१ गोल हराएको थियो।

‘इंग्ल्याण्डले वल्र्ड कपमा राम्रो सुरुवात गरेको छ, र टुर्नामेन्टमा ब्राजिल, जर्मनी तथा फ्रान्सजस्ता टिमले अझैसम्म उत्कृष्ट प्रदर्शन देखाउन सकेका छैनन्। हामीलाई टिमसँग धेरै अपेक्षा छैन्। तर विश्वका टप टिमले टुर्नामेन्टमा अहिलेसम्म जुन प्रदर्शन गरेका छन्, यसले इंग्ल्याण्डका खेलाडीको आत्मविश्वास बढाएको छ र उपाधि जित्ने प्रयास गर्नेछन्’, एश्लेले भनेका छन्।  

इंग्ल्याण्डले आइतबार साँझ ५ बजेर ४५ मिनेटमा पानामाको सामना गर्दैछ।

प्रकाशित: १० असार २०७५ १०:०० आइतबार

रोनाल्डोले पोर्चुगललाई विश्वकप जिताउन सक्लान