खेल

एपिएफ लालबन्दी गोल्डकपको फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने

सर्लाही – रुस्लान थ्री स्टार क्लबलाई ४–३ ले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब २ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

एपिएफले अब उपाधिका लागि नेपाल पुलिससँग असार २ गते प्रतिस्पर्धा गर्नेछ। पुलिसले बुधबार भएको पहिलो सेमिफाइनल खेलमा झापा ११ लाई १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ।

बिहीबार भएको अन्तिम सेमिफाइनलमा एपिएफलाई फाइनलमा पुर्याउन रुपबहादुर लामा, नविन लामा, युवराज खड्का र प्रविन स्याङतानले एक–एक गोल गरे। पराजित टोलीका लागि अजय मार्टिनले २ तथा बुद्ध चेम्जोङले १ गोल गरेपनि जितका लागि पर्याप्त भएन। 

आजको खेलमा एपिएफका नविन लामा म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार प्राप्त गरे। यो सिजन माइभ्याली गोल्डकप र उदयपुर गोल्डकपको उपाधि चुमिसकेको थ्री स्टार लालबन्दी गोल्डकप उचाल्ने दौडबाट बाहिरिन बाध्य भयो।

प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ। त्यस्तै प्रत्येक विधाका उत्कृष्ट खेलाडीले पनि पुरस्कार हात पार्ने आयोजकले जनाएको छ। 

 

प्रकाशित: ३१ जेष्ठ २०७५ १६:०१ बिहीबार

एपिएफ लालबन्दी गोल्डकपको फाइनलमा उपाधिका लागि पुलिससँग भिड्ने