खेल

लालबन्दी गोल्डकप : जावलाखेललाई हराउँदे झापा सेमीफाइनलमा

सर्लाही– रोयल टिजर जावलाखेल युथ क्लब ललितपुरलाई हराउँदै रमपम झापा–११ २ नं. प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशीको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। 

जावलाखेललाई २–१ गोलले पराजित गर्दै झापाले प्रतियोगिताको अन्तिम ४ स्थानमा सिट सुरक्षित गरेको हो। बाईमा परेको झापाले यसअघि उद्घाटन खेलमा आयोजक सलार्ही ११ लाई पराजित गर्दै शनिबार मैदानमा उत्रिएको जावलाखेललाई निरस बनायो। 

खेल सुरु भएको २ मिनेटमै जावलाखेलका जर्सी नं.  ११ का तिर्थ बस्नेतले गोल गर्दै खेललाई १–० को स्थितिमा पु-याए। लगतै झापाका १८ नं. जर्सीका पुष्प मादेनले ३४औं मिनेटमा गोल गर्दा खेल बराबरीमा पुग्यो। दोस्रो हाफको ३६औं मिनेटमा जावलाखेलको डिबक्स नजिकबाट झापाका जर्सी नं. ८ का हेमन्त थापा मगरले प्रहार गरेको फ्रि किकलाई सदुपयोग गर्दै झापाका जर्सी नं. १५ का पुजन उपरकोटीले गोल गरे। अन्ततः सोही गोल झापाको जीतका लागि निर्णायक बन्यो।

लगतै जावलाखेलका खेलाडीले आक्रमक खेल खेलेपनि बराबरी गोल गर्न सकेनन्। ३ जना अफ्रिकन खेलाडी समेत उतारेको जावलाखेल पराजयसँगै ७ लाख रुपैंया नगद सहितको लालबन्दी गोल्डकपको उपाधी होडबाट बाहिरियो। जावलाखेलका खेलाडीका तुलनामा शारिरिक रुपमा कमजोर देखिएका झापका खेलाडीले खेल अवधीभर उत्कृष्ट प्रदर्शन गरेका थिए। म्यान अफ दि म्याच घोषित हुँदै झापाका कप्तान जर्सी नं. १९ का देवेन्द्र तामाङले नगद ५ हजार र ट्रफी प्राप्त गरे।

आइतबारको खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र विजय युथ क्लब हेटौंडाबीच हुने आयोजक सर्लाही फुटबल संघका महासचिव उज्वल कार्कीले जानकारी दिए।

प्रकाशित: २६ जेष्ठ २०७५ १३:०५ शनिबार

लालबन्दी गोल्डकप जावलाखेललाई हराउँदे झापा सेमीफाइनलमा