खेल

एन्फा निर्वाचन रोक्न मुद्धा

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को शनिबार हुने तय भएको निर्वाचन रोक्न उपाध्यक्ष पदका उम्मेदवार विराटजंग शाहीलगायतले बुधबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका छन्। 

एन्फाको विधानअनुसार ६० दिनको सुचना दिनुपर्ने व्यवस्था मिचेर जबरजस्ती चुनाव गर्न लागेको भन्दै शाहीलगायतले रोक्न निशेधाज्ञा माग सहित एन्फाका वर्तमान कोषाध्यष एवं काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष शाहीलगायतले मुद्धा हालेका हुन्।

शाहीसँगै मुद्धा हाल्नेमा उपाध्यक्ष पदका अन्य दुई उम्मेदवार कञ्चनपूर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्द र बाराका अध्यक्ष मोहम्मद समि उल्लाह तथा सिराहाका प्रविणकुमार यादव, पर्साका मानदेव हजारा, ललितपुरका पुरुषोत्तम थापा, कैलालीका मोहितकुमार शाह र सातदोबाटो युथ क्लबका सदस्य अशोक विष्ट छन् । मुद्धामा राष्ट्रिय खेलकुद परिषद, एन्फा र एन्फाको निर्वाचन समितिलाई विपक्षी बनाइएको छ। 

चुनाव रोक्नुपर्ने माग राख्दै मुद्धा दायर गर्नेहरु एन्फा निर्वाचनमा मणि कुँवरको प्यानलबाट उम्मेदवारी दिएकाहरु हुन् । वर्तमान वरिष्ठ उपाध्यक्ष मणि कुँवरले विधानविपरित चुनाव गरिन लागेकाले फुटबल विवाद झनै चुलिने भन्दै अघिल्लो दिन पत्रकार सम्मेलन गरेर तत्काललाई चुनाव रोक्न आह्वान गरेका थिए। 

एन्फाको विधानअनुसार ६० दिनको सुचना नदिई चुनावको मिति तोकिएको, कार्यसमितिले चुनावको मिति तोक्ने निर्णय नगरेको तथा राष्ट्रिय खेलकुद परिषदबाट विधान पास नभएको कारण शनिबारको चुनाव वैधानिक हुन नसक्ने अध्यक्ष पदका उम्मेदवार कुँवरको भनाई थियो। 

कर्माछिरिङ शेर्पाको नेतृत्वमा निर्वाचनमा होमिएको अर्को पक्षले भने शनिबारको चुनावलाई कुनै कानुनी व्यवधान नरहेको बताउँदै आएको छ । शनिबार चुनाव नभए अन्तर्राष्ट्रिय फुटबलको सर्बोच्च निकाय फिफाले नेपाललाई प्रतिबन्ध लगाउने सम्भावना रहेकाले पनि चुनाव रोक्नु नहुने शेर्पा पक्षको जिकिर छ । अदालतको निर्णय नआएसम्म केही नबोल्ने बताएका शेर्पाले त्यसपछिमात्र प्रतिक्रिया दिने बताए। 

गतवर्ष कात्तिकमै एन्फाको चार वर्षे कार्यकाल सकिए पनि संघीय संसद तथा प्रदेश सभाको चुनावलगायतका विभिन्न कारण सारिँदै आएको निर्वाचन पछिल्लो पटक चैत १४ का लागि तय भएको थियो । तर उच्च अदालत, ललितपुरको अन्तमिर आदेशका कारण तत्कालका लागि एन्फाको चुनाव स्थगित भएको थियो।

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले आफूहरुलाई सहभागि नगराईकन हुन लागेको साधारणसभा रोक्ने मागसहित उच्च अदालतमा दिएको रिटमा निर्णय गर्ने क्रममा न्यायाधिष राजकुमार वनको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि निर्वाचन रोक्दै १५ दिनभित्र दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो। 

भक्तपुरमा चुनाव नभएको तथा मकवानपुरको चुनाव निर्वाचन निर्देशिकाअनुसार नभएको भन्दै एन्फाले दुई जिल्लालाई समावेश नगरी मतदाता सूची सार्वजनिक गरेपछि अदालतमा मुद्धा परेको थियो। 

 

प्रकाशित: २० वैशाख २०७५ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App