खेल

नेपाल बंगलादेशसँग पराजित

काठमाडौं – लामो समयको तयारीका साथ बंगबन्धु एसियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि बंगलादेश पुगेको नेपाली टोली शनिबार पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–१ को सेटमा पराजित भएको छ।

शाहिद सुह्रवर्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले पहिलो सेट २४–२६ ले आफ्नो पक्षमा पारे पनि बाँकी सेटमा त्यही प्रदर्शनलाई कायम राख्न नसक्दा पराजय भोग्नु प¥यो। नेपालको ब्लक र रिसिभमा राम्रो तालमेल हुन नसक्दा दोस्रो सेटबाट उत्कृष्ट पुनरागमन गरेको घरेलु टोलीले बाँकी तीन सेट जित्दै सेमिफाइनल यात्रा सहज बनाएको छ।

साविक विजेता बंगलादेशले बाँकी सेट २५–१८, २५–१४, र २५–२१ को स्कोरमा जितेको थियो। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नोपलले आइतबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। बंगलादेशले समूह चरणको अन्तिम खेलमा मंगलबार माल्दिभ्सविरुद्ध खेल्नेछ। नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले पहिलो खेल गुमाए पनि माल्दिभ्सविरुद्ध राम्रो गर्ने विश्वास व्यक्त गरे।

‘पहिलो सेट जिते पनि कमजोर आत्मविश्वासका कारण बाँकी सेटमा राम्रो गर्न सकेनौं। हाम्रो  रिसिभ र ब्लकमा केही कमजोरी देखियो,’ प्रशिक्षक भट्टले भने, ‘त्यसलाई सुधार गर्दै हामी भोलीको खेल जित्ने विश्वास लिएका छौं।’

नेपालबाट दिपकराज जोशी, विनोद चन्द र राजु शेरचनले नेपालबाट शनिबार डेब्यू गरेका थिए। नेपाल गत तेस्रो भएको थियो। गत वर्ष प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको थियो भने यसवर्ष ६ टोलीले प्रतिस्पर्धा गरेका छन्।

नेपाल, बंगलादेश र माल्दिभ्स समूह ‘ए’ मा  छन् भने समूह ‘बी’ मा उज्वेकिस्तान, तुर्किमिनिस्तान र किर्गिस्तान रहेका छन्। दुबै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।

प्रकाशित: ९ वैशाख २०७५ ०४:२८ आइतबार

नेपाल बंगलादेशसँग पराजित