खेल

जय ट्रफी फाइनल: खराब मौसम र बलर हाबी खेल रोमाञ्चक मोडमा

वीरगन्जमा तीन दिनदेखि चलिरहेको जय ट्रफी एलाइट कपको फाइनल खेल रोमाञ्चक मोडमा पुगेको छ। त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले फाइनल खेलिरहेका छन् । पुलिसले दिएको १०३ रनको सामान्य लक्ष्य पछ्याएको आर्मी ३३ रनमा चार विकेट गुमाइसकेको छ। ३३ रनमै चार विकेट लिँदा पुलिसका बलरमा जबरजस्त आत्मविश्वास देखिएको छ । 

सुरुकै दिनदेखि खराब मौसमले खलल पु¥याएरहेको खेलमा लगातार बलर हाबी देखिएका छन्। त्यसमा पनि स्पिनरको बलले जलवा चलिरहेको छ ।  

मङ्गलवार सुरुमा टस जितेर आर्मीले फिल्डिङ रोजेको थियो । पहिलो दिन खराब प्रकाशका कारण १७ ओभरको खेल मात्रै हुन सक्यो । बुधवार बिहानी सत्रसम्म आइपुग्दा पुलिस क्लब १३३ रनमा नौ विकेट गुमाउन पुग्यो। जसमा आर्मीका स्पिन बलर साहब आलमले एक्लै ७ विकेट लिएका थिए । सोमपाल कामी र बासिर अहमदले एक एक विकेट बाँडे । 

पुलिसका तर्फबाट कुशल भुर्तेलले ५१, अर्जुन साउँदले २८, अमित श्रेष्ठले २० रनको योगदान दिएका थिए । 

लगातार बलर हाबी भएको खेलमा त्यसपछि पुलिस क्लबले आफ्नो पहिलो इनिङको घोषणा गरेको थियो । त्यसपछि मैदानमा उत्रिएको आर्मीले पनि गतिलो ब्याटिङ प्रदर्शन गर्न सकेन् । सिङ्गो पारी १७० रनको स्कोरमा अलआउट भयो । 

जसमा भीम सार्कीले ५८, बासिर अहमदले ४०, सोमपाल कामीले ३२, विनोद भण्डारीले १४ र इमरान शेखले १० रनको योगदान दिए । 

बलिङमा पुलिस क्लबका सागर ढकालले ५ विकेट लिँदा कुशल भुर्तेलले तीन विकेट लिए । ललित राजवंशी र गुल्सन झाले एक एक विकेट पाए। 

यसरी आर्मीले पहिलो इनिङमा ३७ रनको अग्रता प्राप्त गरेको थियो । 

त्यसपछि मैदानमा उत्रिएको पुलिस क्लबको ब्याटिङ फेरी कमजोर नै देखियो । पुलिसका लागि दोस्रो इनिङमा पनि सर्वाधिक रन योगदानकर्ता कुशल भुर्तेल रहे । उनले ४५ रनको योगदान दिँदा, दिलीप नाथले ३४ रन, रसिद खानले १८ रन र अमित श्रेष्ठले १३ रनको योगदान दिए । दोस्रो दिनको खेल सकिँदा पुलिस १३२ रन जोडेर ९ विकेट गुमाएको स्थितिमा थियो । 

तेस्रो दिनको पहिलो सत्रमा थप ७ रन जोडेर पुलिस अलआउट भयो । बलिङमा पहिलो इनिङमा ७ विकेट लिएका साहब आलमले ५ र बासिर अहमदले ५ विकेट लिए । 

त्यसपछि १०३ रनको लक्ष्य पछ्याएको आर्मीका अहिलेसम्म त्रितराज दास, सन्तोष कार्की र भीम सार्की गरी तीन विकेट गुमिसकेका छन् । जसलाई पुलिसका ललित राजवंशीले २ र सागर ढकालले २ विकेट बाँडेका छन् । आर्मीले उपाधि जित्न अझै ७० रन जोड्नुपर्ने छ। 

प्रकाशित: ३ माघ २०८१ १२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App