खेल

क्लार्क संन्यास फिर्ता लिन तयार

सिड्नी – पूर्वकप्तान माइकल क्लार्कले बल–टेम्परिङ घटनापछि अस्ट्रेलियाली क्रिकेट टोलीमाथिको संकट टार्न आफू संन्यास फिर्ता लिन तयार भएको आइतबार बताएका छन्।

दुई साताअघि दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टदौरान बल–टेम्परिङ घटनामा मुछिएपछि क्रिकेट अस्ट्रेलिया (सिए) ले कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई एक वर्षको र ओपनर क्यामरुन बेनक्रफ्टलाई ९ महिनाको प्रतिबन्ध लगाएपछि अस्ट्रेलियाली टोली अहिले नेतृत्वविहीन छ।

‘म अस्ट्रेलियन क्रिकेट टोलीमाथि परेको संकट टार्न जे गर्न पनि तयार छु,’ ३७ वर्षे क्लार्कले भने, ‘उमेर भनेको उमेर हो । मैले उमेरका बारेमा कहिल्यै सोचिनँ । ब्राड हगले ४५ वर्षसम्म खेले । त्यसैले उमेरभन्दा पनि कसले कस्तो प्रदर्शन गर्छ र टोलीलाई कस्तो योगदान पुर्याउँछ त्यो महत्वपूर्ण पक्ष हो।’

पूर्वब्याट्सम्यान क्लार्कले यसबारेमा क्रिकेट अस्ट्रेलिया (सिए)का प्रमुख कार्यकारी जेम्स सुथरल्यान्ड जानकारी गराए पनि उनले कुनै जबाफ नदिएको बताए।

२०१५ मा इङ्ल्यान्डविरुद्धको एसेस शृंखलाको फाइनल खेलपछि क्लार्कले १ सय १५औं टेस्ट पूरा गर्दै संन्यासको घोषणा गरेका थिए।

मैले क्रिकेटमा धेरै अनुभवसँगै कठिन परिस्थित पनि भोगेको छु’ क्लार्कले भने, ‘म टोलीमा रहेका युवा खेलाडीलाई अनुभव साट्दै नेतृत्व लिन तयार छु । हाम्रो अहिलेको प्रमुख उद्देश्य भनेको अस्ट्रेलियन क्रिकेट टोलीले कायम राख्दै आएको साखलाई फेरि फर्काउनु हो।’

क्लार्कले बल टेम्परिङ घटना र अस्ट्रेलिया टेस्ट वरीयताको चौथो  स्थानमा झर्दा आफूहरूलाई पुनरागमन गर्न वर्षाैं लाग्न सक्ने बताए।

‘म यसबारे चिन्तित छु । म अस्ट्रेलियाली टोली वेस्ट इन्डिजजस्तो कमजोर बनेको हेर्न चाहन्नँ’ उनले थपे, ‘हामी छिटोभन्दा छिटो यो समस्याबाट बाहिर निस्कन चाहन्छाैं।’

प्रकाशित: २८ चैत्र २०७४ ०६:०० बुधबार

क्लार्क संन्यास लिन तयार