ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा सुनसरीको गोधुली फुटबल क्लब सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।
तेस्रो क्वार्टरफाइनल खेलमा गोधुलीले भारतको सिलगुढीबाट आएको कञ्चनजंघा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो।
सोमबार भानुजन मावि, अम्बिटारको खेल मैदानमा भएको प्रतिस्पर्धामा गोधुलीका दोर्जे तामाङले पहिलो हाफमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफमा मिलन राईले अर्को गोल थप्दै गोधुलीको जीत सुनिश्चित गरे।
विदेशी खेलाडी पिटर र कार्लोसले समेत प्रेरित गरेको गोधुलीको बलियो प्रदर्शनले भारतको कञ्चनजंघालाई प्रतियोगिताको पहिलो खेलमै बाहिरिन बाध्य बनायो।
खेलको अन्त्यतिर ४ मिनेट बाँकी रहँदा गोधुलीका मिलन राई र कञ्चनजंघाका प्रज्वल केसीले रातो कार्ड खाँदा दुवै टोली १० खेलाडीमा सीमित भए। तर, गोधुलीको दरिलो रक्षा र प्रभावशाली खेलले कञ्चनजंघालाई खेलमा फर्कने मौका दिएन।
गोधुलीको सेमीफाइनल भिडन्त सम्दु फुटबल क्लब तेह्रथुमसँग पक्का भएको छ। यसअघि, सम्दु फुटबल क्लब तेह्रथुम र रेड डेभिल्स फुटबल क्लब इलामले क्रमशः पहिलो र दोस्रो क्वार्टरफाइनल खेल जितेर सेमीफाइनलमा स्थान सुरक्षित गरेका थिए।
मंगलबार न्यू स्टार क्लब बिर्तामोड झापा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच अन्तिम क्वार्टरफाइनल खेल हुनेछ। यो खेलको विजेताले दोस्रो सेमीफाइनलमा रेड डेभिल्स फुटबल क्लब इलामको सामना गर्नेछ।
प्रतियोगिताको विजेताले ३ लाख २ हजार ८१ र उपविजेताले १ लाख ५१ हजार ८१ पुरस्कार प्राप्त गर्नेछन्।
प्रकाशित: १७ मंसिर २०८१ १६:४८ सोमबार