खेल

सुदूरपश्चिम यु– १९ राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश

विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी र सुदूरपश्चिम प्रदेश विजयी  भएका छन्। विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरले बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको हो।

टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको खेलमा  ४१ ओभरमै सबै विकेट गुमाई १ सय २९ रन बनायो। बागमतीका रोशन विश्वकर्माले अविजित ५६ रन बनाउँदा उत्तम मगरले २५ रनको योगदान दिए। सुदूरका युवराज खत्रीले सर्वाधिक ५ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दै ५१ रन दिए। उनी खेलको प्लेयर अफ द म्याच समेत भए।  १ सय ३० रनको विजयी लक्ष्य पाएको सुदूरले २८ दशमलव ५ बलमा ५ विकेट गुमाउँदै लक्ष पुरा ग¥यो।

सुदूरका प्रकाश पाण्डेले अविजित ५२ रन बनाउँदा नरेश भट्टले ३८ रनको योगदान दिए। बागमतीका दिपक सेरलाले सर्वाधिक २ विकेट लिए । सुदूरले खेलेको ५ खेलमा ४ मा जित निकाल्दै ८ अङ्कका साथ दोस्रा स्थानमा रहेर फाइनलको यात्रा तय गरेको छ भने बागमतीले खेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अङ्कका साथमा चौथो स्थानमा रहेको छ।

आइतबारै विराटनगर –१९ स्थित बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई २ विकेटले पराजित गरेको छ।  टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३८ दशमलव १ बलमा सबै विकेट गुमाई १ सय १ रनको योगफल बनायो। कर्णालीका अरविन्द्र खत्रीले सर्वाधिक ४६ रन बनाए। गण्डकी प्लेयर अफ द म्याच अपराजित पौडेलले सर्वाधिक ५ विकेट लिए। उनले १० ओभरमा ३ मेडन राख्दै १९ रन दिए।

१ सय २ रनको लक्ष्य पाएको गण्डकीले २६ दशमलव १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ। गण्डकीका रोहित अन्दले २२ रन बनाउँदा सिब्रिन श्रेष्ठले १९ रनको योगदान दिए। कर्णालीका युनिष ठकुरीले ४ विकेट लिँदा अनुज चनराले २ विकेट लिए। गण्डकीले सबै ६ खेल खेल्दा ३ मा जित हात पार्दै तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ भने कर्णाली  ५ वटै खेलमा पराजित भई लिगको पुछारमा रहेको छ। सोमबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कर्णाली र मधेस प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र सुदूर प्रदेशबिच  हुनेछ। 

प्रकाशित: १८ कार्तिक २०८१ १८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App