खेल

यू १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम र मधेस प्रदेश विजयी

विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल मेन्स यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश विजयी भएका छन्।

प्रतियोगिता अन्तर्गत मंगलबार बैजानाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेट पराजित गरेको छ।

टस जितेर पहिलो ब्याटिङ थालेको कर्णाली ३० ओभर ५ बल खेल्दै सबै विकेटको क्षतिमा ७४ रनमै सीमित बन्यो। मनिष थापाले ४२ रन बाहेक अरु खेलाडीले दोहोरो अंक भेटाएनन्। सुदूरपश्चिमका नरेन साउदले ५, अशोक धामीले २, कैलाश ऐर, युवराज खत्री र सचिन भट्टले १–१ विकेट लिए।

सुदूरपश्चिमले पाएको ७५ रनको लक्ष्य १८ ओभर १ बल खेल्दै ५ विकेटको क्षतिमा ७६ रन बनाउँदै विजयी भयो । नरेन भट्टले २८, युवराज खत्रीले २३ रनको योगदान गरे। कर्णालीका युनिस ठकुरीले ३ विकेटले लिए । खेलको प्लेयर अफ द म्याच सुदूरपश्चिमका नरेन साउद भए।

त्यस्तै, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अर्काे खेलमा मधेस प्रदेशले बागमती प्रदेशलाई ४६ रनले हरायो।

टस जितेर बागमतीले मधेसलाई पहिलो ब्याटिङको मौका दियो। पहिलो ब्याटिङ थालेको मधेसले ४६ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनायो। इमरन सेखले ५४, रोशन साहले ३० र राजेश यादवले १५ रन बनाए । बागमतीका दयानन्द मण्डलले ३, दीपक सेरलाले २, गोकुल अधिकारी, राजेश बोहरा, दिनेश विष्ट र रोशन विश्वकर्माले १–१ विकेट लिए।

१ सय ४३ रन लक्ष्य पछ्याउने क्रममा बागमती ३९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९६ रनमै सीमित भयो । रिङजिङ लामाले ३५, राजेश बोहराले १८ र आर्यन क्षेत्रीले १३ रन बनाए। मधेसका अफ्रुदिन राइन र राजेश यादवले ३ तथा अभिषेक तिवारी र रञ्जित कुमारले २–२ विकेट लिए। प्लेयर अफ द म्याच मधेसका इमरन सेख भए।

अंक तालिकामा मधेस र लुम्बिनी प्रदेशको समान ४–४ अंक छ। कर्णाली अंक विहीन भइरहँदा अन्य प्रदेशले २–२ अंक जोडेका छन्। 

बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कर्णाली र लुम्बिनी प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा गण्डकी र कोसी प्रदेशबीच खेल हुनेछ। 

प्रकाशित: १३ कार्तिक २०८१ १९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App