खेल

मालिकादेवी कपको क्वाटरफाइनल समीकरण पूरा

<br>

<br>

सिन्धुपाल्चोकको चर्चित नकआउट फुटबल प्रतियोगिता चौथो संस्करणको मालिकादेवी कपको क्वाटरफाइनल समीकरण पूरा भएको छ।

चौतारा साँगाचोकगढी नगरपालिका-७ मेलचौरमा भइरहेको सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता अन्तर्गत बुधबार प्रि–क्वाटरफाइनलका अन्तिम चार खेल भएसँगै अन्तिम आठको टुंगो लागेको हो।

मेलचौरस्थित दरबारडाँडा मैदानमा भएका प्रिक्वाटरफाइनलका खेलमा जित हासिल गर्दै झापाको वारियर्स एफसी झापा, सुनकोसी ‘बी’ सुनकोसी, चौतारा स्पोर्टिङ क्लब चौतारा र रोयल फेमेली चौतारा अन्तिम आठमा पुगेका हुन्। यसअघि मंगलबार चार टोलीले क्वाटरफाइनलमा स्थान बनाएका थिए।

दिनको पहिलो खेलमा वारियर्सले स्याउले टिम शिल्ड स्याउलेलाई २–१ गोलले पराजित गर्‍यो। वारियर्सका प्रतिक लामा म्यान अफ द म्याच भए।

अर्को खेलमा सुनकोसी बीले साँगाचोक यूथ क्लबविरुद्ध पेनाल्टी सुटआउटमा ५–४ गोलको नतिजा निकाल्यो। सुनकोसीका प्रेमबहादुर तिमल्सिना म्यान अफ द म्याच चुनिए। दुई गोलसहित सन्दीप कार्कीको म्यान अफ द म्याच घोषित भए।

प्रदर्शन प्रेरित दिनको तेस्रो खेलमा चौतारा स्पोर्टिङ क्लबले सिंहमती युबा क्लब कुञ्चोकलाई ३–० ले सहजै हरायो। अन्तिम खेलमा साविक विजेता रोयल फेमेलीले रानीटार युवा क्लबलाई ३–० गोलले पाखा लगाउँदै अन्तिम आठमा स्थान बनायो। रोयलका सुनिल गोले म्यान अफ द म्याच घोषित भए।

म्यान अफ द म्याच घोषित खेलाडीले जनही नगद १ हजार रुपैयाँ र ट्रफी पुरस्कार पाए।

मेलचौर युवा जागरण समाजले आयोजना गरेको प्रतियोगिताको क्वाटरफाइनलका चारै खेल बिहीबार हुने छन्। पहिलो खेल सुकुटे युवा जागरण मन्च र राई एफसीबीच हुनेछ भने दोस्रो खेलमा वारियर्स एफसी र सुनकोसी ‘बी’ भिड्ने छन्।

अर्को क्वाटरफाइनलमा चौतारा स्पोर्टिङ क्लब र पोखरे युवा समाजबीच प्रतिस्पर्धा हुँदा अन्तिम खेलमा रोयल फेमेलीले धार्पा युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।  
 

प्रतियोगिताको सेमिफाइनल शुक्रबार र फाइनल शनिबार हुनेछ। आयोजक जागरण समाजका अनुसार विजेताले उपाधिका साथमा नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार पाउने छन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकलाई आकर्षक पुरस्कारसहित ट्रफीको व्यवस्था आयोजकले गरेका छन्।

प्रकाशित: ७ कार्तिक २०८१ २१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App