खेल

जितबाट नेपालको सुरुआत

घरेलु टाेली अमेरिकाकाे विकेट लिएपछि नेपालका दीपेन्द्रसिंह ऐरी (बायाँ) र कप्तान राेहितकुमार पाैडेल।

क्यानडामा निराशाजनक प्रदर्शन गर्दै अमेरिका पुगेको नेपालले घरेलु टोलीविरुद्धको तीन खेलको ट्वेन्टी– २० आई शृंखलामा सुखद सुरुआत गरेको छ। नेपालले यसअघि क्यानडामा घरेलु टोली र ओमानसँग त्रिकोणात्मक ट्वेन्टी–२० शृंखला खेलेको थियो। नेपालले ओमानलाई ३७ र ५६ रनले पराजित गरे पनि क्यानडासँग निरीह रह्यो। नेपालले क्यानडासँगको दुई खेल १४ रन र चार विकेटले गुमाएको थियो।

तर, शुक्रबार बिहान भएको पहिलो खेलमा नेपाल अमेरिकामाथि १७ रनको जित हासिल गर्न सफल भयो। नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४७ रन मात्रै बनाउन सक्यो। योसँगै नेपालले शृंखलामा १–० को अग्रता लिएको छ। नेपालले दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ।

नेपालको कसिलो बलिङसामु अमेरिकाले राम्रो सुरुआत गर्न सकेन। आठ रन बनाउँदा नै अमेरिकाले दुई विकेट गुमाइसकेको थियो। तर, सायन जहाँगिरले अविजित रहँदै सर्वाधिक ६० रन बनाए। ३४ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। तर, उनलाई अन्य ब्याटरले साथ नदिँदा अमेरिका हारबाट शृंखलाको सुरुआत गर्न बाध्य भयो। उनीबाहेक आन्द्रेस गौस र मिलिन्द कुमारले अमेरिकाको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। आन्द्रेसले २५ बलमा दुई चौका र दुई छक्कासहित ३० रन प्रहार गरे।

यस्तै, मिलिन्दले २६ बलमा एक चौकासहित २२ रनको योगदान दिए। दुवै ब्याटर क्याच हुँदा अमेरिकाले नेपालसामु चुनौती पेस गर्न सकेन।

नेपाली बलर दीपेन्द्रसिंह ऐरीले तीन ओभरमा २७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए। उनले मिलिन्दसहित हर्मित सिंहलाई शून्य र जसदीप सिंहलाई १६ रनमा पेभिलियन फर्काए। मिलिन्द र हर्मितको विकेट उनले १६औं ओभरको सुरुआती दुई बलमा लिएका हुन्। यस्तै, रिजन ढकाल, करण केसी र गुलसनकुमार झाले पनि समान एक विकेट लिँदा अमेरिकी ब्याटरले खुलेर खेल्ने मौका प्राप्त गरेनन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहितकुमार पौडेलको ४९ रनको मद्दतमा नौ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। क्यानडा भ्रमणअन्तर्गत भएको त्रिकोणात्मक ट्वेन्टी–२० शृंखलामा ओमानविरुद्ध ५६ रनको अविजित अर्धशतकीय इनिङ खेलेका रोहितलाई मिलिन्द र गौसले ‘ब्याक टु ब्याक’ अर्धशतक प्रहार गर्न भने दिएनन्।

३३ बलमा चार चौका र एक छक्का प्रहार गरेका उनलाई मिलिन्द र गौसले अन्तिम बलमा रन आउट बनाएका थिए। यद्यपि, कुशल भुर्तेलको स्थानमा ओपनिङ गरिरहेका अनिलकुमार साहले पहिलो विकेटका लागि आसिफ शेखसँग ४८ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए।

अनिल र आसिफ दुवै समान २७ रनमा आउट भए। मध्यक्रमका दीपेन्द्रसिंहले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रनको योगदान दिँदा अन्य ब्याटरको प्रदर्शन भने निराशाजनक रह्यो। भरपर्दा मानिएका गुलसनले ११ र कुशल भुर्तेलले १० रनमा क्रिज छाडे।

नेपालले अन्तिम दुई ओभरमा  पाँच रन बनाएको थियो। उक्त रन बनाउँदा नेपालले पाँचै विकेट गुमायो। रोहित रनआउट हुँदा जसदीप र सौरभ नेत्राभलकरले समान दुई विकेट लिए। उनीहरूले करण र आरिफ शेखलाई शून्य रनमा पेभिलियन फर्काए। दुई बल खेलेका सोमपाल कामीले दुई रन लिन पाए। नेपाललाई विशाल लक्ष्यबाट रोक्न जसदीप र सौरभबाहेक हर्मितले दुई विकेट लिए। अली खान र नोस्टुस केन्जिगेको नाममा समान एक विकेट रह्यो। 

प्रकाशित: ३ कार्तिक २०८१ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App