खेल

दसैं फुटबलको उपाधि राजाबासको पोल्टामा

ट्रफि चुमेका विजयी खेलाडी टोलीसँग उपसभामुख दनुवार। तस्बिर: महेश्वर/नागरिक

उदयपुरको रौतामाई गाउँपालिका-७ मुर्कुची राजाबासमा आयोजित दसैं-तिहार फुटबल प्रतियोगिताको उपाधि राजाबास फुटबल क्लबले चुमेको छ।

सातादिनअघि सुरु भएर शनिबार सम्पन्न फाइनल खेलमा राजाबासले ४–२ को गोल अन्तरले रौता स्पोर्टस् क्लब मुर्कुचीलाई पराजित गर्दै उपाधि चुमेको हो।

स्थानीय राजाबास युवा सञ्जालको आयोजनामा दसैं तिहार लक्षित प्रतियोगितामा राजाबासले टाईब्रेकरमा रौतालाई पराजित गरेको हो। निर्धारित ९० मिनटको खेलमा दुवै पक्षबाट गोलरहित टुङ्गिएपछि नतिजा निकाल्न टाईब्रेकरको सहारा लिनु परेको थियो।

टाईब्रेकरमा ५ खेलाडीमध्ये ४ जनाले प्रहार गरेको बलले जाली चुमेसँगै राजाबास विजेता बन्न पुगेको हो। रौता स्पोर्टस क्लबको तर्फबाट भने २ गोल मात्र भयो।

खेलको उत्कृष्ट गोलरक्षकको उपाधि रौताका निमा शेर्पा घोषित हुँदै नगद र ट्रफि पुरस्कार पाए। प्रतियोगिता समापन कार्यक्रममा प्रदेश उपसभामुख सृजना दनुवारले विजयी राजावासलाई नगद २० हजारसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिन्। त्यस्तै , दश हजार र सिल्ड तथा प्रमाणपत्र उपविजेता टिमले पाएको छ।

आयोजक सञ्जालका अध्यक्ष कृष्ण राईका अनुसार प्रतियोगितामा रौतामाईका विभिन्न वडा तथा छिमेकी उदयपुगढी गाउँपालिका र त्रियुगा नगरपालिकाका गरी १२ खेल समूहको सहभागिता थियो।

अध्यक्ष राईले ग्रामीण भेगमा पनि फुटबल खेलको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताए।

गाउँघरमा पनि प्रतिभावान् खेलाडीहरू लुकेर रहेको हुनाले उनीहरुको प्रतिभाव प्रस्फुटन गराउन गाउँ-गाउँमा खेलकुदका गतिविधि गर्न क्लब लागिपरेको अध्यक्ष राईले बताए। अवसर पाएमा गाउँले प्रतिभाहरू जिल्ला स्तर मात्र नभएर प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी बन्न सक्ने गरी अभ्यास सुरु गरिएको उनको भनाई छ।

पहिलो पटक प्रतियोगिता आयोजना गरेको सञ्जालले आगामी दिनमा नियमित र मौसमी प्रतियोगिता गर्दै लाने प्रतिबद्धता पनि समूहले जनाएको छ।

गाउँघरमा अवसर नपाएर खेल प्रतिभा खुम्चिन नदिन यस्ता प्रतियोगिताहरु गर्दै आगामी दिनमा पुरस्कार राशि बढाउँदै  व्यापक रुपमा कार्यक्रम गर्ने योजना उनको छ।

खेलाडीलाई पुरस्कार वितरण गर्दै उपसभामुख दनुवारले खेलकुदले युवाहरूलाई अनुशासित, गतिशील तथा राष्ट्र र समाजप्रति प्रतिबद्ध हुन सिकाउने भएकाले खेलकुद क्षेत्र देश र समाजका लागि गौरवको विषय भएको बताइन्।

ग्रामीण भेगका खेलाडीको प्रतिभा मौलाउन दिनका लागि राज्यले खेलकुद क्षेत्रको बृहत्तर विकास गर्ने योजना प्रदेश सरकारले अघि बढाएको पनि उनले सुनाइन।

प्रकाशित: १९ आश्विन २०८१ १९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App