खेल

अर्जेन्टिनी गोलकिपर मार्टिनेजमाथि दुई खेलको प्रतिबन्ध

 विश्वकप विजेता अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजमाथि दुई खेलको प्रतिबन्ध लागेको अर्जेन्टिनी फुटबल फेडेरेसन एसोसिएसन (एएफए) ले जनाएको छ ।

विश्व फुटबल महासंघ(फिफा) ले आपत्तिजनक व्यवहारका कारण उनीमाथि प्रतिबन्ध लगाइएको एएफएले जनाएको छ । एस्टन भिल्लाका ३२ वर्षे गोलकिपर मार्टिनेजले छुट्टाछुट्टै खेलमा फेयर प्लेका सिद्धान्त उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गर्दै प्रतिबन्ध लगाएको हो । 

गत सेप्टेम्बर ५ मा विश्वकप छनोटको खेल चिलीलाई हराएपछि कोपा अमेरिका ट्रफीको प्रतिकृति कम्मर राख्दा फिफा आचारसंहिता उल्लङ्घन गरेका थिए । उनको त्यो हर्कत पहिलोपल्ट होइन । त्यसअघि सन् २०२२ को विश्वकप फाइनलमा फ्रान्सलाई हराएपछि वेस्ट गोलकिपरको ट्रफी लिने क्रममा पनि त्यस किसिमका हर्कत गरेका थिए । गत सेप्टेम्बर १० मा कोलम्बियामाथि २–१ को जित निकाल्दा पनि उनले आफ्नो ग्लभ्सले टिभी क्यामरा पर्सनलाई हानेका थिए ।

अर्जेन्टिनी फुटबल एसोसिएसनले फिफाको उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ । ‘फिफाको अनुशासन समितिद्वारा लिइएको निर्णयप्रति अर्जेन्टिनी फुटबल एसोसिएसन पूर्ण असहमति व्यक्त गर्दैछौं,’एएफएले भनेको छ । मार्टिनेज अर्जेन्टिनी फुटबल टोलीको महत्त्वपूर्ण  सदस्य हुन् । उनको योगदानमा अर्जेन्टिनाले २०२१ को कोपा अमेरिका समेत जितेको थियो ।

अब मार्टिनेज बिना नै अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गत आगामी अक्टोबर १० मा भेनेजुएला र अक्टोबर १५ मा बोलिभिया विरुद्धको खेल गुमाउने भएका छन् । विश्वकपअन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोटमा अर्जेन्टिना शीर्ष स्थानमा छ । अर्जेन्टिनाले आठ खेलबाट १८ अंक जोडेको छ । कोलम्बिया दुई अङ्कले पछाडि छ ।     

प्रकाशित: १२ आश्विन २०८१ १७:०३ शनिबार

#World Cup winner #Argentina goalkeeper Emiliano Martinez