खेल

नेपाल र दक्षिण कोरियाका खेलकुदमन्त्रीबीच भेटवार्ता

कोरिया भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृति, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि रानबीच साेमबार सिओलमा भेटवार्ता भएको छ।

भेटमा कोरिया र नेपालबिचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो। युवा तथा खेलकुद मन्त्री श्रेष्ठले नेपालको शैलुङमा बन्न लागेको हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको बारेमा जानकारी गराएका थिए। उनले उक्त हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको लागि नेपाल सरकारले बजेट छुट्टयाएको र प्राथमिकताका साथ अगाडि बढाउने बताए। भाइस मिनिस्टर मि रानले सो सेन्टरको स्थलगत भ्रमण गर्ने प्रतिबद्धता जनाइन।

भेटमा नेपाल र कोरियाको संस्कृतिको विषयमा पनि छलफल भएको थियो। यसै गरी युवाहरूको लागि नेपालमा मेडिटेसन सेन्टर निर्माणको विषयमा पनि सकारात्मक छलफल भएको थियो। मि रान ओलम्पिक्सकी गोल्ड मेडलिस्ट भारोत्तोलन खेलाडी र चार पटककी विश्व विजेता पनि हुन। 

कोरिया सरकारको निमन्त्रणामा दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहेका मन्त्री श्रेष्ठले मंगलबार  कोरियन स्पोर्ट्स एन्ड ओलम्पिक कमिटीका अध्यक्ष ली की हुङ र वर्ल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डाक्टर चुङवोङ चावोसँग  भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १७ असार २०८१ २०:०१ सोमबार

#South Korea #Youth and Sports Minister Viraj Bhakta Shrestha #Diplomatic relations between Korea and Nepal