खेल

कास्की र तनहुँको लगातार जित

गण्डकी प्रदेशस्तरीय ट्वान्टी–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँले लगातार दोस्रो जित हासिल गरेका छन्। पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन कास्की र तनहुँले आआफ्नो खेल जितेका हुन्।

शनिबारको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दीलाई सात विकेटले पराजित गर्‍यो। म्याग्दीले दिएको ७५ रनको लक्ष्य कास्कीले १० ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो। कास्कीका ओपनर अर्जुन कुमालले अविजित रहँदै सर्वाधिक ३६ रन बनाए। ३१ बल खेलेका उनले पाँच चौका प्रहार गरे। सिब्रिन श्रेष्ठ १६ रनमा आउट हुँदा रोहित घर्ती २१ रनमा अविजित रहे।

म्याग्दीका केशव साउदले सर्वाधिक दुई विकेट लिए। तीन ओभर बलिङ गरेका उनले १५ रन खर्चिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको म्याग्दीले १८.५ ओभरमा १० विकेट गुमाउँदै ७५ रन बनाएको थियो। म्याग्दीका लागि केशव साउदले २७ बलमा १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

कास्कीले म्याग्दीलाई २२ रन एक्स्ट्रा दिएको थियो। कास्कीका कृष्ण पौडेलको धारिलो बलिङ गर्दै सर्वाधिक चार विकेट लिए। म्यान अफ द म्याचसमेत रहेका कृष्णले ३.३ ओभरको बलिङ स्पेलमा १७ रन दिए। यस्तै, सिब्रिन श्रेष्ठ र विश्वास पराजुलीले समान दुई विकेट लिँदा विपिन खत्री र आदित्य थापाको नाममा एक/एक विकेट रह्यो।

अर्को खेलमा तनहुँले बागलुङविरुद्ध कठिन जित हासिल गर्‍यो। १२४ रनको लक्ष्य पछ्याएको तनहुँले अन्तिम ओभरको चौथो बलमा जितको यात्रा तय गरेको थियो । खेल १९.४ ओभरसम्म आइपुग्दा तनहुँले आठ विकेट गुमाइसकेको थियो।

तनहुँका चन्द्रकान्त पौडेलले सर्वाधिक २२ रन बनाए। १४ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे । सदित्य बन्जाराले १९ र समीर कँडेलले १५ रन जोडे। सदित्य र ईशान श्रेष्ठ रिटायर्ड हर्ट हुँदै पेभेलिएन फर्किएका थिए। दिनेश बुढामगर १८ र समीर कँडेल १५ रनमा आउट भए। बागलुङका आश्विन थापाले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। त्यसअघि ब्याटिङ थालेको बागलुङले पूरै २० ओभर खेल्दै नौ विकेटको क्षतिमा १२३ रन बनाएको थियो।

बागलुङका आराश तामाङले सर्वाधिक ३५ रन बनाए। ३० बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे। चन्द्रदीप यादव २५, अनिश जिशी १६ र विवेक नेपाल १७ रनमा आउट भए। तनहुँका कृश ऐर र चन्द्रकान्त पौडेलले समान दुई विकेट लिए । जितसँगै कास्की र तनहुँले समान चार अंक बटुलेका छन्। म्याग्दी र बागलुङ भने पहिलो जितको प्रतीक्षामा छन्। आइतबार कास्की र तनहुँ पहिलो खेलमा भिड्नेछन् । दोस्रो खेल बागलुङ र म्याग्दीबीच हुनेछ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनोटसमेत रहेको प्रतियोगिताको विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार रूपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए। यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २ असार २०८१ ०७:५७ आइतबार

#Kaski-Tanahun #Gandaki state level Twenty-20 #Pokhara-Stadium