ग्रान्डस्लाम टेनिसअन्तर्गत फ्रेन्च ओपनमा पुरुष एकलतर्फको उपाधि भिडन्ट आज हुँदैछ । उपाधिका लागि तेस्रो वरीयाताका कार्लोस अल्काराज (Carlos Alcaraz) र चौथो वरीयाताका अलेक्जेन्डर भेरेभ (Alexander Zverev) बीच प्रतिस्पर्धा हुन लागेको हो । खेल साँझ सुरु हुनेछ ।
२१ वर्षे स्पेनका अल्काराज २२ वर्षे इटलीका जानिक सिनरमाथि ३-२ को संघर्षपूर्ण जित निकाल्दै फाइलनमा पुगेका हुन् । ४ घण्टा ९ मिनेट चलेको खेलमा पहिलो सेट सिनरलाई सुम्पिएका अल्काराजले दोस्रो भने आफ्नोमा पारेका थिए । तेस्रो गुमाए पनि बाँकी दुवै सेटमा उत्कृष्ट पुनरागमन जनाउँदै उनले फाइनलमा स्थान पक्का गरे ।
अर्को सेमिफाइनलमा जर्मनीका भेरेभले नर्वेका कास्पर रुडलाई ३-१ को सेटमा पाखा लगाए । सातौं वरीयाताका रुडलाई पराजित गर्न भेरेभले कोर्टमा मात्र २ घण्टा ३५ मिनेट संघर्ष गर्नु परेको थियो ।
फ्रेन्च ओपनमा स्वातेकको ह्याट्रिक
महिला एकलतर्फको उपाधि भने शीर्ष वरीयाताकी इगा स्वातेक (Iga Swiatek) ले जितेकी छन् ।
फ्रेन्च ओपनको फाइनलमा इटलीकी जस्मिन पाउलोनी (Jasmine Paolini) माथि ६-१ र ६-१ को सहज जित निकाल्दै पोल्यान्डकी स्वातेकले उपाधिमा ह्याट्रिक गरेकी हुन् । सन् २०२० मा पहिलो पटक उपाधि जितेकी उनले ०२२, ०२३ र यो वर्ष लगातार उपाधि जितिन् ।
पहिलो पटक ग्रान्डस्लामको फाइनलमा पुगेकी पाउलोनी भने उपाधि चुम्न असफल भइन् ।
प्रकाशित: २७ जेष्ठ २०८१ १५:०७ आइतबार