खेल

भारतीय ४ खेलाडीको तलब ११ करोडभन्दा बढी, ईशान र अय्यरले ठाउँ पनि पाएनन्

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले खेलाडीहरूको वार्षिक सम्झौताको वर्गीकरण सार्वजनिक गरेको छ। भारतीय क्रिकेटका ३० जना खेलाडीलाई ४ वर्गमा राखेर बीसीसीआईले सम्झौता गरेको वर्गीकरण सार्वजनिक गरेको हो।

बीसीसीआईका अनुसार ए प्लस, ए, बी र सी गरी चार वर्गमा खेलाडीको वर्गीकरण गरिएको छ।

जसमा ए प्लसमा ४ जना खेलाडी परेका छन् भने ए मा ६ जना खेलाडी रहेका छन्। यस्तै बी मा ५ जना र सी मा सबैभन्दा धेरै १५ जना खेलाडी रहेका छन्।

नयाँ वर्गीकरण सम्झौता अनुसार 'ए प्लस'मा भारतका कप्तान रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा रहेका छन्। उनीहरूको वार्षिक तलब भारतीय रुपैयाँ ७ करोड अर्थात् नेपाली ११ करोड २० लाख रहेको छ। यसअघि पनि यी चार खेलाडी ए प्लसमै थिए।

त्यसैगरी 'ए' वर्गमा आर अश्विन, मोहम्मद सिराज, मोहम्मद शमी, केएल राहुल, शुभमन गिल र हार्दिक पाण्ड्या रहेका छन्। ए वर्गका खेलाडीको वार्षिक तलब ५ करोड भारतीय रुपैयाँ अर्थात् नेपाली ८ करोड रहेको छ।

यस्तै 'बी' वर्गमा सूर्यकुमार यादव, ऋषभ पन्त, कुलदीप यादव, अक्षर पटेल र यशस्वी जयसवाल रहेका छन्। यी खेलाडीहरूको तलब वार्षिक ३ करोड भारतीय रुपैयाँ अर्थात् नेपाली ४ करोड ८० लाख रहेको छ भने 'सी' वर्गमा रिंकु सिंह, तिलक वर्मा, ऋतृराज गायकवाड, शार्दुल ठाकुर, शिवम् दुबे, रवि बिश्नोई, जितेश शर्मा, वाशिङ्गटन सुन्दर, मुकेश कुमार, संजू सैमसन, अर्शदीप सिंह, केएस भारत, प्रसिद्ध कृष्णा, आवेश खान र रजत पाटीदार रहेका छ। सी वर्गमा परेका खेलाडीहरूको तलब वार्षिक १ करोड भारतीय रुपैयाँ अर्थात् नेपाली १ करोड ६० लाख रहेको छ।

बीसीसीआईको नयाँ वार्षिक सम्झौतामा भने ईशान किशन, युजवेन्द्र चहल र श्रेयश अय्यरलाई स्थान दिइएको छैन। त्यसबाहेक वार्षिक सम्झौताबाट बाहिर हुनेमा शिखर धवन, चेतेश्वर पुजारा, उमेश यादव र दिपक हुड्डा पनि रहेका छन्।

प्रकाशित: १७ फाल्गुन २०८० ०८:०३ बिहीबार

भारतीय क्रिकेट नियन्त्रण बोर्ड वार्षिक सम्झौता वर्गीकरण रोहित शर्मा विराट कोहली शुभमन गिल मोहम्मद शमी