खेल

कर्णालीविरुद्ध विनोद भण्डारीको शतक

कप्तान विनोद भण्डारीको शतकप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पाँचौं जित निकाल्दै फाइनल खेल्ने सम्भावना कायमै राखेको छ।

विनाेदको शतकसहित आर्मीले आइतबार कर्णाली प्रदेशलाई एक सय ६४ रनले हराएको हो। लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। लिगमा दुई खेल खेल्न बाँकी आर्मी सात खेलबाट १० अंक जोड्दै चौथो स्थानमा छ। पराजित कर्णालीको भने आठ खेलबाट ६ अंक छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार आर्मीले दिएको २८० रनको लक्ष्य पछ्याएको कर्णाली २९ ओभरमा एक सय १५ रनमै समेटियो। कर्णालीका हिमान्शु शाहीले १९, दिवान पुनले १८, विपिन शाहीले १४ तथा कप्तान रवीन्द्र शाही, निश्चल रावल र दीपेन्द्र रावतले समान १२ रन बनाए ।

आर्मीको बलिङमा विवेक यादव र कुशल मल्लले समान तीन, सोमपाल कामीले दुई र साहब आलमले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले २७९ रन बनाएको थियो।

आर्मीका कप्तान विनोदले शतक बनाउने क्रममा १३२ बलमा ६ चौका र तीन छक्का प्रहार गरे। बसिर अहमद ९८ रनमा नटआउट रहे। उनले ९२ बलमा १२ चौका र एक छक्का हिर्काए।

अन्य ब्याट्सम्यान भीम सार्कीले २५, कुशल मल्लले २१ र सन्तोष कार्कीले ११ रन बनाए। कर्णालीको बलिङमा दीपेन्द्र रावतले दुई तथा प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले समान एक विकेट लिए।

आइतबार भएको अर्को खेलमा प्रदीप पासवानको उत्कृष्ट बलिङप्रेरित मधेश प्रदेशले लुम्बिनी प्रदेशमाथि ९ रनको रोमाञ्चक जित निकाल्यो। जितसँगै ९ खेलबाट १२ अंक जोडेको मधेश तेस्रो स्थानमा छ।

लुम्बिनी सात खेलबाट दुई अंकका साथ नवौं स्थानमा छ। मूलपानी क्रिकेट मैदान आइतबार मधेशले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको लुम्बिनी ४०.५ ओभरमा एक सय ६० रनमा समेटियो। लुम्बिनीका प्रज्ज्वल थापाले ६२ रनको योगदान गरे।

 अभियोक गौतमले २६, दिलसद अलीले २२ र मृनाल गुरुङले २१ रन बनाए। अन्य ब्याटर चल्न नसक्दा लुम्बिनीले साँघुरो हार बेहोर्‍यो। मधेसको बलिङमा प्रदीप पासवानले ९ ओभरमा ३० रन खर्चिदै ६ विकेट लिए। अभिषेक तिवारीले दुई तथा रूपेश सिंह र कप्तान हरिशंकर शाहले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले ४१.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६९ रनको योगफल बनायो। मधेशका अरनिको यादवले ३८, पवन सर्राफ र अभिषेक तिवारीले समान २६, मायन यादवले २२, अनिल शाहले १६ र प्रदीप पासवानले १० रन बनाए।

लुम्बिनीको बलिङमा वीर मगरले चार, अभिषेक गौतमले तीन तथा कृष्ण कार्की र मोहम्मद हुसेनले समान एक विकेट लिए ।

प्रकाशित: १५ माघ २०८० ००:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App