खेल

झापा गोल्डकप : आयोजक झापा ११ र सिक्किम युनाइटेड भिड्दै

तस्बिर: गाेल नेपाल डटकम

झापाको बिर्तामोडमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपमा बुधबार (आज) आयोजक झापा ११ र सिक्किम युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ। खेल डोमालाल राजबंशी रंगशालामा दिउँसो ३ः०० बजे पछि सुरू हुँनेछ।

पहिलो प्रि क्वाटरफाइनलमा सुदूरपश्चिम ११ लाई ५–० ले पराजित गर्दै झापा ११ क्वाटरफाइनलमा प्रवेश गरेको हो भने सिक्किम युनाइटेडले सिधै वाइ पाएर क्वाटरफाइनलमा स्थान पक्का गरेको हो। आजको विजेता टोलीले सेमिफाइनलमा त्रिभुवन आर्मी र थ्री स्टारबीचको विजेतासँग खेल्नुपर्नेछ।

यसअघि मंगलबार भएको खेलमा सहारा क्लब पोखरालाई टाइब्रेकरमा ४−३ गोलअन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट लिनुपरेको थियो। सहाराका कप्तान मानबहादुर तामाङको प्रहार मनाङका गोलरक्षक दिनेश थापामगरले बचाए भने भीषण गुरुङको प्रहार बाहिरिएको थियो। मनाङका तर्फबाट सुजल श्रेष्ठ, बिमल बस्नेत, अन्जन विष्ट, डोना थापाको प्रहार गोलमा परिणत भयो भने पोखराका विजय श्रेष्ठ, रन्दीप पौडेल र विश्व अधिकारीले मात्र गोल गर्न सकेका थिए। खेलको म्यान अफ द म्याच मनाङका अन्जन विष्टले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए।

फागुन २८ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५१ हजार तथा उप विजेताले ६ लाख प्राप्त गर्नेछ। त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले २५ हजार रूपैयाँ पाउने आयोजकले जानकारी दिएको छ। त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान मोटरसाइकल प्राप्त गर्नेछन्।

गतवर्ष सम्पन्न दोस्रो संस्करणको उपाधि आयोजक झापा ११ लाई १–० ले पराजित गर्दै मनाङ मर्स्याङ्दीले जितेको थियो।

७ जना खेलाडी अनुबन्धित हुँदै
विभिन्न कम्पनीहरूले झापा ११ का ७ खेलाडीलाई  अनुबन्धित गर्ने भएका छन्। गोल्डकप समापनका अवसरमा बिर्तामोडको सहारा अटोमोवाइल्सले डिफेन्डर देवेन्द्र तामाङ र निगाले सिमेन्टले योगेश गुरुङलाई मासिक तलबसहित अनुबन्धित गर्ने भएको हो।

झापा गोल्डकप आयोजक समितिका संयोजक महेन्द्र गिरीका अनुसार कन्काइ नगरपालिका, बिर्तामोडको कन्काइ फाउन्डेसन, प्रदीप इँटा उद्योग, होटल हिकोला हेरिटेज र मनसा सिमेन्टले एकजना खेलाडी अनुबन्धन गर्ने सहमति गरेका छन्। ती कम्पनीहरुले दुई बर्षसम्म मासिक २५ हजारका दरले पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। गिरीले यसै बर्ष भित्र सबै खेलाडीलाई अनुबन्ध गर्ने तयारी रहेको बताए।

प्रकाशित: २३ फाल्गुन २०७४ ०४:४४ बुधबार

झापा गोल्डकप आयोजक झापा ११ सिक्किम युनाइटेड भिड्दै