खेल

यूरोपस्तरीय भलिबलको उपाधि मोना पोर्चुगललाई

म्याग्दी – पोर्चुगलमा आयोजित यूरोप अन्तरदेशीय लखन स्मृति भलिबल प्रतियोगिताको उपाधि म्याग्दी प्रवासी नेपाली संघ मोना (पोर्चुगल) ले जितेको छ।

प्रथम शहीद लखन थापाको स्मृतिमा मगर संघ पोर्चुगलले आयोजना गरेको यूरोपस्तरिय खुल्ला भलिबल प्रतियोगिता एवम बृहत्त सांस्कृति कार्यक्रममा बेलायतबाट आएको नेपाली टोलीलाई झिनो मतान्तरले पराजित गर्दै मोनाले उपाधि चुमेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मोनाका तर्फबाट महेन्द्र पुलिस क्लवका पूर्व खेलाडी श्याम रोका, डम्बर खत्री, कमल गुर्बजा, सुरेस केसी, लक्ष्मण गर्बुजा, भुवन आचार्य, राजु पुन र याम थापा लगायतले खेलेका थिए। मोनाका कमल गर्बुजा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।  

प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश २ हजार, १५ सय र १ हजार यूरो, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। प्रतियोगितामा डेनमार्क, फ्रान्स, लक्जेम्बर, बेलायत, फिनल्याण्ड र पोर्चुगलका संघसंस्था गरी ११ समुहको सहभागिता रहेको थियो। आयोजकले महावीर पुनको आविस्कार केन्द्रलाई ५० हजार नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

 

 

 

 

प्रकाशित: १५ फाल्गुन २०७४ ०६:१२ मंगलबार

यूरोपस्तरीय भलिबलको उपाधि मोना पोर्चुगललाई