खेल

माङ्सेबुङमा महिलाको फुटबल प्रतियोगिता आयोजना गरिने

माङ्सेबुङ गाउँपालिकामा महिला खेलाडीको फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। यही माघ २३ देखि फागुन ३ सम्म १४औं ‘पवित्राहाङमा कप–२०८०’ महिला फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको हो।

किरात धर्म गुरुआमा पवित्राहाङ्मा लिङ्देनको ६८औं जन्मोत्सव अवसरमा माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा प्रतियोगिता आयोजना गरिने छ। आयोजक आत्मा–पवित्र हक्चात यक्चुम र महान् सेवा समारोह अध्यक्ष मनकुमार आङ्बुहाङले प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टिम सहभागी हुने बताए।

प्रतियोगितामा माङसेबुङ गाउँपालिका, मोरङ मिक्लाजङको नवदीप युवा क्लब, झापा कन्काई नगरपालिका, सप्तरीको नमो बुद्ध युथ, इलामकै दीपेन्द्र शिखर र मोरङको जनसहयोग युवा क्लब प्रतियोगितामा सहभागी हुनेछन्। भारत दार्जिलिङको एमएफसी र भुटानबाट बिवाइसी पनि सहभागी हुने आयोजक समिति अध्यक्ष मनप्रसाद आङ्बुहाङले जानकारी दिए। 

विजेताले तीन लाख एक सय ६८ र उपविजेताले दुई लाख एक सय ६८ रुपैयाँ नगद पुरस्कार पाउनेछन्। त्यस अवसरमा म्याराथन, पक्लुङ लेप्मा, लठ्ठा तान्ने, हाँडी फुटाइ, कराते लगायत खेल आयोजना गरिने उनले बताए। 

प्रकाशित: ३ माघ २०८० १५:२७ बुधबार

माङ्सेबुङमा महिलाको फुटबल प्रतियोगिता आयोजना गरिने