खेल

प्रथम प्रविण घले स्मृति कप: रोयल फेमिलीलाई उपाधि

प्रथम प्रविण घले स्मृति कप ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि रोयल फेमिली क्लब चौताराले जितेको छ।

सदरमुकाम चौतारास्थित मिनी रंगाशालामा आइतबार सम्पन्न फाइनल खेलको टाइव्रेकरमा बाह्रदेवी युवा क्लब बाह्रविसेलाई ३–२ गोलले स्तब्ध पार्दै घरेलु क्लब चौतारा उपाधि हात पारेको हो।

उपाधिसँगै विजेता रोयल फेमिलीले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ हात पारेको छ। उपविजेता बाह्रदेवीले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारमा चित्त बुझायो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको टुंगो सिधै पेनाल्टी प्रहारमार्फत लगाइएको हो। पेनाल्टीमा रोयल फेमिलीका गोलकिपर नविन सिलवाल नायक बने। उनले बाह्रदेवीका राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका सुरजज्यू ठकुरीसहितका दुई पेनाल्टी रोके।

यसअघि निर्धारित समयको खेलमा पनि सिलवालले विपक्षीका केही उत्कृष्ट प्रहार शानदार बचाउ गरेर टोलीको संकट टारेका थिए। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गरेर पनि बनाएका अवसरमा चुक्दा बाह्रदेवी पेनाल्टीमा स्तब्ध बन्न पुग्यो।

फाइनलमा ‘म्यान अफ द म्याच’ प्रदर्शन गरेका रोयल फेमिलीकै सिलवाल प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भए। रोयलकै सुनिल गोले उत्कृष्ट खेलाडी, शतिष सुवाल उत्कृष्ट डिफेन्डर चुनिँदा बाह्रदेवीका सुरजज्यू ठकुरी उत्कृष्ट मिडफिल्डर घोषित भए।

मेलचौर युवा जागरण समाजका सुरज लामा प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने। क्वाटर फाइनलबाट बाहिरिए पनि उनले प्रतियोगितामा तीन गोल गरेका थिए। उत्कृष्ट खेलाडीले ट्रफीका साथ जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाए।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले विजयी टोली तथा खेलाडीहरुलाई ट्रफी, शिल्ड, मेडललगायत नगद पुरस्कार वितरण गरे।

घले ल्होसारको अवसरमा लिल फङ (घले समाज) सिन्धुपाल्चोकको आयोजनामा साता चलेको प्रतियोगितामा शीर्ष लिग र स्थानीय खेलाडी मिश्रित विभिन्न १६ टोलीले प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: १ माघ २०८० १३:५७ सोमबार